कांग्रेस सुदूरपश्चिमका सभापतिले फेरि भनेः चुनावमा तालमेल हुँदैन
धनगढी : नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति बीरबहादुर बलायरले आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसले एक्लै चुनावमा जानुपर्ने बताएका छन्। यसअघि पनि कांग्रेस एक्लै चुनावमा होमिने बताउँदै आएका उनले दार्चुला पुगेर फेरि यस्तो बताएका हुन्।
शुक्रवार दार्चुला पुगेका बलायरले सञ्चारकर्मीसँग भने, ‘मौजुदा परिस्थितिमा गठबन्धनको परिकल्पना नगरिएकाले नीतिगत रुपमा सुदूरपश्चिममा गठबन्धन हुदैन।’ कांग्रेसले एक्लै चुनावमा जानुपर्ने उनको भनाइ छ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा समेत सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्न सकारात्मक देखिएपनि केन्द्रीय सदस्य सशांक कोइराला लगायतका नेताहरु अनिच्छुक देखिएका छन्। यस्तै अन्य नेताहरु र प्रदेशका देउवा निकटकै सभापतिहरु पनि तालमेलमा अनिच्छुक देखिएका हुन्।