काठमाडौं : बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा तालमेल गर्ने विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान ११ बजे सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, स्थानीय निर्वाचन, प्रधानमन्त्रीको भारत भ्रमणको विययमा विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ।
बुधबार भरतपुर विमानस्थलमा पत्रकारसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक सत्ता गठबन्धनभित्र दलहरुबीच स्थानीय निर्वाचनमा तालमेलको विषयमा छलफल हुने जानकारी दिएका थिए। उनले बिहीबार बस्ने गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरमा तालमेलको निर्णयमा छलफल हुने बताए। सोही क्रममा प्रचण्डले भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रको दाबी रहेको बताएका थिए।
मंगलबार सत्तारुढ दल कांग्रेसले स्थानीय निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन दलसँग तालमेल गर्ने निर्णय गरेको छ। निर्णयमा भनिएको छ, ‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ ।