स्थानीय तहको निर्वाचन प्रचारप्रचार तिब्र : मतदाताको घर–घरमा पुग्दै दलहरु
अत्तरिया : आसन्न बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनलाई लक्षित गदैँ राजनीतिक दलहरुले प्रचारप्रचार तिब्र पारेका छन् । उम्मेद्वाहरुको टुङगो नलागे पनि राजनीतिक दलहरुका नेता कार्यकर्ताहरु मतादाताहरुको घर–घरमा पुगीरहेका छन् ।
आफ्नो दलका पक्षमा लाग्न आग्रह गदैँ विभिन्न आश्वासनहरु बाँडीरहेका छन् । पाँच बर्षमा गरेका कामहरु समेत स्थानीय तहका जनप्रतिनिधिहरु मतदाताहरुलाई सम्झाई बुझाई रहेका छन् । पछिल्ला दिनहरुमा दल फेर्नेहरु पनि उत्तिकै रहेका छन् ।
अहिले राजनीतिक दलहरुले टोल गई टोल भेला गर्नुका साथै गाउँ तथा नगरमा आम भेलाको तयारी थालेका छन । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै यहाँका सक्रिय राजनीतिक दलका नेताहरू मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्नुका साथै चुनावी माहोल बनाउन गाउँ टोल छिरेका हुन् ।
कैलालीको क्षेत्र नम्बर ४ मा पनि निर्वाचन गतिविधिहरु बढेका छन् । केन्द्रिय नीति अनुसार चुनाव प्रचार देखि घर–घरमा पुगिरहेका छन् । काँग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापति बसन्त रोकाया ‘ललित’ ले केन्द्रको कार्यक्रमा घर–घरमा पुगेको बताए । ‘पार्टीको केन्द्रिय नीति अनुसार पहिलो चरणमा वडा, टोलमा पुगेका छौँ’, उनले भने । ‘पार्टीले सरकारमा हुँदा पाँच बर्षमा गरेका कामको बारेमा मतदाताहरुलाई बुझाईका पनि छौँ ।’
यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्षीराम आचार्यले पनि स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै टोल देखि वडा सम्म पुगिरहेको बताए ।
‘हामीले सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका प्रशिक्षणहरु सकेर ८८ वटै स्थानीय तहमा विशेष प्रशिक्षण सञ्चालन गरिरहेका छौँ’, उनले भने । स्थानीय तहको प्रशिक्षणपश्चात् एक साताभित्रै वडादेखि पालिकासम्म ३÷३ जनाका दरले उम्मेदवारहरुको नाम सिफारिस गर्न निर्देशन दिइएको उनले बताए । ‘हामी सुदूरपश्चिममा आक्रामकरूपमा चुनावी तयारीमा जुटेका छौँ,’ केन्द्रीय सदस्य आचार्यले भने, ‘सुदूरपश्चिममा स्थानीय तहको निर्वाचनमा बहुमत ल्याउने तयारीका साथ नेता कार्यकर्ता परिचालन गरी प्रचार प्रसार गर्नुका साथै मतदाता रिझाउन घरघरसम्मै दौडधूप चलिरहेको छ ।’
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देल, नेकपा (एकीकृत समाजवादी) का महासचिव वेंदुराम भुषाल, नेकपा एमालेका सचिव योगेश भट्टराईलगायतका शीर्ष तथा प्रभावशाली नेताहरु सुदूरपश्चिममा आइपुगेका छन् । उनीहरुले यहाँका नेता तथा कार्यकर्तासँग भेटघाटका साथै प्रशिक्षण तथा आमसभा गरेर कार्यकर्तालाई स्थानीय तहको चुनावी माहोलमा होमिन निर्देशन दिए । अहिले सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु गाउँमा राजनीतिक माहोल सपार्न गाउँ तथा टोल केन्द्रित भएका छन् ।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनरायण शाह ‘मनु’ ले अहिले कांग्रेस वडास्तरीय कार्यक्रममा गाउँ गाउँ पुगेर घरघर छिरेको बताए । उनले भने,‘हामी चुनावी रणनीति बनाउँदै मतदाताका पीर मर्का बुझ्न फेरि घरघर छिरेका छौँ ।’
यस्तै नेकपा एमालेले पनि सुदूरपश्चिममा आफ्ना गतिविधिलाई आक्रामकरुपमा अगाडि बढाएको छ । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठकका अनुसार गत फागुन १५ र १६ गते स्थानीय तहको प्रशिक्षण कार्यक्रम गरिसकेर प्रदेशका ९ वटै जिल्लामा निर्वाचन केन्द्रित गतिविधि अगाडि बढाइरहेको छ । ‘हामीले सबै कमिटीका नेताहरुलाई एक तह तल ओर्लेर स्थानीय तहको निर्वाचनका लागि खट्न निर्देशन दिएका छौँ,’ प्रदेश सचिव पाठकले भने,‘निर्वाचनका लागि हामी वृहत योजनासहित अगाडि बढिसकेका छौँ ।’
अहिले एमालेले सुदूरपश्चिम प्रदेशभरी गाउँ टोलमा भेला तथा प्रशिक्षण कार्यक्रम चलाइरहेको पनि उनले बताए । ‘हामीले सबै गाउँ तथा टोलमा भेला तथा प्रशिक्षण चलाइरहेका छौँ,’ उनले भने,‘यसका साथै जितेका पालिकामा गरिएको दस्तावेदीकरण गर्नुका साथै त्यसलाई प्रचार प्रसार पनि गरिरहेका छौँ ।’ यद्दपि राजनीतिक दलहरुले अहिलेसम्म स्थानीय तहको निर्वाचनका लागि आफ्ना उम्मेदवार दिई सकेका छैनन् ।