Agni Offset Press

सुदूरपश्चिम प्रदेशमा सरकार काँग्रेस, एमाले एकै ठाउँमा उभिने

Aarati simant

अत्तरिया : सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरुले एक ठाउँमा उभिएका छन् । बुधबार धनगढीमा भएको छलफलमा नेपाली कांग्रेस र एमालेका प्रदेशसभा सदस्यहरू सरकारको विपक्षमा एक हुने टुंगोमा पुगेका हुन् ।
केन्द्रमा कांग्रेस, माओवादी केन्द्र र समाजवादी दलबीच गठबन्धन भए पनि सुदूरपश्चिम सरकारमा भने कांग्रेस सरकार बाहिर प्रमुख प्रतिपक्षी दल बनेको छ । कांग्रेसका प्रदेश सांसद भरत खड्का केन्द्रको भन्दा पनि प्रदेशको आवश्यकता अनुरूप गठबन्धन गर्नुपर्नेमा जोड दिए । ‘एकतर्फी रूपमा सरकारले काम गर्दै आएको छ । त्यसको भागीदार हामी किन बन्ने ? केन्द्र सत्ता गठबन्धन तोडेर नयाँ समीकरण बनाउनुपर्ने देखिएको छ ।’ उनले भने ।
यस्तै, कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलले सुदूरपश्चिम सरकार चलाउन नयाँ समीकरण बन्ने बताए । ‘एमाले पनि अहिले प्रतिपक्षमा छ । उसले कांग्रेसको साथ पाउँदा सरकारको विरोध गर्ने शक्ति बलियो हुन्छ, उनले भने ।
एमालेका प्रदेश संसद लीलाधर भट्टले कांग्रेस र एमालेबीच सरकारका गलत प्रवृत्तिविरुद्ध सशक्त भएर अघि बढ्ने सहमति भएको जानकारी दिए । ‘हाम्रो दुवै प्रतिपक्षीको साझा धारण छ । छलफलबाट पनि त्यही निष्कर्ष निकालेका छौँ, उनले भने ।
प्रदेश गठबन्धनबारे कांग्रेसका प्रदेश सांसद डिल्लीराज पन्त, भरतबहादुर खड्का र अम्बिका थापा तथा एमालेका प्रकाशबहादुर शाह, लीलाधर भट्ट, हर्कबहादुर कुँवर र बलदेव रेग्मीबीच संयुक्त छलफल भएको थियो । यो प्रदेशमा माओवादीले सरकारको नेतृत्व गरेको छ । सत्तासाझेदार दलका रूपमा एकीकृत समाजवादी मात्रै छ । जसका कारण कांग्रेस रुष्ट छ ।
कांग्रेस सुरुआतदेखि नै सुदूपश्चिम प्रदेश सरकारमा प्रमुख प्रतिपक्षी रहँदै आएको दल हो । सुदूरपश्चिम प्रदेशसभामा नेकपा समाजवादीका १४, नेकपा माओवादी केन्द्र १३, नेपाली कांग्रेस १२, नेकपा एमालेका १०, जसपा १ र लोसपा १ प्रदेश संसदलहरूले प्रतिनिधित्व गर्दै आएका छन् ।
प्रदेशमा ६ राजनीतिक दलहरूको प्रतिनिधत्व छ । केन्द्रमा गठबन्धन भए पनि सुदूरपश्चिममा आफ्नो सहभागिता नभएको भन्दै कांग्रेस रुष्ट रहँदै छ । त्यसैले पनि कांग्रेस अहिले सत्ताका लागि चलखेल गर्दै आएको छ । कांग्रेस र एमालेबीचको छलफललाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.