आलुबाट तेब्बर आयआर्जन गर्दै डडेल्धुराका किसान

डडेल्धुरा : ‘फाँट र साथ दिनुस्, आलु र आम्दानी लिनुस्’ नारामा समाहित हुँदै डडेल्धुरा जिल्लाका किसानले गहुँ छोडेर आलु लगाउन थालेपछि उत्पादन तेब्बर बढीले वृद्धि भएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गहुँ लगाएर पर्याप्त उत्पादन नहुने किसानका लागि आलु सुपर जोन कार्यक्रममार्फत् तेब्बर उत्पादन दिलाएको हो। डडेल्धुराका किसान प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट लाभान्वित भएका छन्।

अजयमेरु गाउँपालिका–३ नौलाकोटका किसान करुणाकर पनेरुले गहँु मासेर मनग्य आम्दानी हुने आलु लगाएका छन्। गहुँभन्दा आलु बढी उत्पादन हुने, नभएमा परियोजनाको जिल्ला व्यवस्थापन एकाइले क्षतिपूर्ति दिने सहमति भएपछि छरेको गहुँ उखेलेर भैँसीलाई खुवाइ किसान आलुखेतीमा आकर्षित भएका हुन्।

यसरी लगाइएको आलु जङ्गली जनावरले खान थालेपछि परियोजनाको आर्थिक सहयोगमा नौलाकोटको आलु लगाएको एक हजार ४०० मिटर क्षेत्रफललाई तारबारले घेरिएको छ। नौलाकोट कृषक समूहका सचिव भोजराज पनेरु आफू आलु सुपर जोन समन्वय समितिको सदस्य निर्वाचित भएपछि कार्यालयमा गएर आलुखेतीमा लाग्ने भन्दै सहयोग माग गरेको सुनाउछन्। नवदुर्गा, गन्यापधुरालगायत गाउँपालिकामा गएर कृषिसमूहमार्फत् भएका खालुखेतीको अध्ययनसमेत गरेको उनले सुनाए।

नौलाकोटमा ६ हेक्टर जमिनमा १२० क्विन्टल आलु लगाइएको छ। तारबार भत्किएको स्थानमा बँदेलले चारपटकसम्म छिरेर आलु खाएर दुःख दिएको किसानको गुनासो छ।

आलुखेतीका लागि किसानलाई सिँचाइको समेत राम्रो सुविधा हुन सकेको छैन। सुपर जोनसँग सिञ्चाइ सुविधाका लागि किसानले माग गरिरहेका छन्। पोखरीमात्र निर्माण गर्ने स्रोत जुटाउनसके पनि पाइपबाट आलुखेती गरिएको स्थानमा सिँचाइ गर्न सकिने भन्दै किसानले सहयोग माग गरिरहेका हुन्।

सिँचाइ सुविधा पुर्‍याउनसके असोज र माघमा गरी दुईपटक आलु लगाउन सकिन्छ। असोजमा लगाएको आलु पुसमा र माघमा लगाएको आलु वैशाखमा तयार हुन्छ। वैशाखमा आलु निकालेपछि किसानले धान रोप्छन्। एक कठ्ठामा गहुँबाट रु ५०० मात्र आयआर्जन गरेका किसानले आलुबाट भने रु १० हजारसम्म आम्दानी गरेका छन्। जिल्लाका सात पालिकाकाका प्रत्येक वडामा धेरथोर आलुखेती गरिरहेको तथ्याङ्क परियोजनासँग छ। किसानलाई आलुखेतीका बारेमा जानकारी गराएर प्राविधि सहयोगसमेत दिन वरिष्ठ कृषि विकास अधिकृत जोशीको नेतृत्वमा प्राविधिक टोली बिहान, बेलुका नभनी गाउँगाउँ डुल्ने गरेकाले पनि उल्लेखनीय प्रगति भएको हो। परियोजनाको डडेल्धुरा व्यवस्थापन एकाइले फरक सोच राखेर काम गरेकाले नै जिल्लामा कार्यक्रम सफल भएको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.