धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवा चैत २४ गते धनगढी आउँदैछन् । धनगढीमा निर्माण भएको सिटी हलको उद्घाटन, भूमिहीनलाई लालपूर्जा वितरणका लागि उनी यहाँ आउन लागेको नेपाली काङ्ग्रेस कैलालीले जानकारी दिएको छ ।
प्रधानमन्त्री देउवा विहान जहाजमार्फत धनगढी पुग्ने जनाइएको छ । उनले धनगढी उपमहानगरपालिका–८ मा निर्माण भएको सिटी हल (सभा गृह) को उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाली काङ्ग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले जानकारी दिए ।
संघीय सरकारको २५ करोड २६ लाख रुपैयाँ लगानीमा सिटी हल निर्माण कार्य पूरा भएको भएको छ ।ठूला सभा, सम्मेलन आयोजना गर्ने उद्देश्यका साथ धनगढी उपमहानगरपालिका–८ मा सिटी हल निर्माण गरिएको हो ।
सिटी हलमा साढे छ सयभन्दा बढी क्षमताको एउटा ठूलो र अढाई सय क्षमताको अर्को सानो गरी दुई वटा सभा हल रहेको छ । यसैगरी, सय÷डेढ सय सवारी साधन पार्किङ गर्न सकिने गरी अन्डर ग्राउण्ड पार्किङको व्यवस्था गरिएको छ । भीआइपी कक्ष, लब्बी लगायतका संरचना सिटी हलमा रहेको छ ।
२०७६ माघमा सिटी हल निर्माणको ठेक्का सम्झौता भएको थियो । कोरोना महामारीका कारण तोकिएको समयावधिमा काम सम्पन्न हुन नसकेपछि चैतसम्मको म्याद थप गरिएको थियो ।राष्ट्रिय स्टान्डार्डको यो सिटी हल बनेमा सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय स्तरको जुनसुकै ठूला सभा, सम्मेलन गर्न समस्या नहुने बताइएको छ ।
शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमार्फत सिटी हल निर्माणको कार्य भएको हो । प्रदेशकै गौरवको एक योजनाको रुपमा सिटी हल तयार भए पनि कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने तय भइसकेको छैन । निर्माण कम्पनीले सिटी हल तयार पारेर सञ्चालनका लागि धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्नेछ । सम्भवतः ठेक्का प्रक्रियामार्फत सिटी हल सञ्चालन हुने वडा अध्यक्ष नारायण बरालले बताएका छन् । प्रधानमन्त्री देउवाले सिटी हलको उद्घाटन गर्नेछन् ।
यसैगरी, उपमहानगरपालिका–९ का भूमिहीन लाई लालपूर्जा वितरण गर्ने कार्यक्रम रहेको नेपाली काङ्ग्रेस कैलालीका सचिव सुनारले बताए ।