Agni Offset Press

कैलालीका किसानलाई कृषि सामग्री हस्तान्तरण

Aarati simant

धनगढी : कृषि ज्ञान केन्द्र कैलालीले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामाग्री हस्तान्तरण गरेको छ । चालु आर्थिक वर्ष २०७८÷७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत तरकारी ब्लक कार्यक्रम सञ्चालनका लागि श्री मजगाँउ समन्वय कृषक समूहलाई विभिन्न प्रकारका कृषि सामाग्री हस्तान्तरण गरेको हो ।

कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र प्रसाद शर्माले मजगाँउ समन्वय कृषक समूहका अध्यक्ष चन्द्र प्रकाश चौधरीलाई पावर टिलर २० एचपी एक थान, मिनी लिटर ७ एचपी डीजल इन्जिन २० थान, बाँसको प्लाष्टिक घर ५० थान, बोरिङका लागि ठोकाइ १५ मिटर, जी आई पाइप ४ इन्च १५ मिटर,प्लाष्टिक स्प्रेयर १६ लिटरका ४८ थान, इलेक्ट्रिक तराजु दुई थान,इन्सेक्ट नेट ३० केजी,प्लाष्टिक क्रेक ५६ थान हस्तान्तरण गरेका हुन् ।

विगतका २ वर्ष उक्त क्षेत्रमा पकेट कार्यक्रम लागु गरिएको भएतापनि यस वर्ष आवश्यकताका आधारमा सोही मोडालिटीको परिमार्जित ब्लक विकास कार्यक्रम लागु गरेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख शर्माले बताए ।

‘कार्यक्रमको समन्वय केन्द्र र प्रदेश सरकारले गर्ने भएतापनि सञ्चालन तथा कृषक परिचालन भने समन्वय समूहले गर्छन्’, उनले भने, ‘यस क्षेत्रलाई आगामी वर्षमा जोन हुँदै सुपर जोनका रुपमा स्थापित गर्नेछौँ ।’

गोदावरी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष नरेश बहादुर अधिकारीले विगतका वर्षहरूमा राजनीतिक पहुँचमा मात्रै कृषकले सामाग्री पाउने गरेको भए पनि यस वर्ष भने कृषि ज्ञान केन्द्रले किसानकै घरमै पुगेर कृषि सामाग्री हस्तान्तरण गरेकाले यस वर्ष भने राजनीतिक पहुँचबाहिर भएको हुन सक्ने बताए । उनले आगामी दिनमा पनि राजनीतिक पहुँचमा नभई किसानको समस्यालाई मध्यनजर गरी कृषि सामाग्री वितरण गर्न समेत आग्रह गरे ।

त्यस्तै सामाग्री वितरणका लागी वडाभित्र रहेका विभिन्न ७ कृषक समूहलाई समेटेको मजगाउँ समन्वय कृषक समूहका अध्यक्ष चन्द्र प्रकाश चौधरीले जानकारी दिए । बेमौसमी तरकारी खेतीका लागि प्रख्यात मानिएको उक्त क्षेत्रमा सक्रिय रुपमा लागेका किसानलाई वडा कार्यालयको सिफारिस र पहिचानका आधारमा सामाग्री वितरण गरेको चौधरीले बताएका छन् ।

गत वर्ष लागु गरिएको कृषि पकेट क्षेत्र कार्यक्रममा आफूले सहभागिता जनाएका स्थानीय किसान फुलराम चौधरीले उक्त कार्यक्रम आफूहरूका लागी निकै फलदायी रहेको बताए । मानवीय सहयोगको भावनालाई आत्मसाथ गर्दै यस वर्ष आवश्यकताका आधारमा अरू किसानलाई पालो दिएको बताउँदै चौधरीले यो कार्यक्रमको निरन्तरताका सवालमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

त्यस्तै बेमौसमी तरकारी खेती गर्दै आएकी माया चौधरीले पनि सरकारबाट ५० प्रतिशत अनुदानमा कृषि सामाग्री पाउँदा खुसी लागेको बताइन् । आफ्नो पेशालाई आउँदा दिनमा थप प्रोत्साहन गर्दै सक्रिय रुपमा काम गर्ने चौधरीको भनाइ छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.