Agni Offset Press

सुदूरपश्चिम सरकार : दलहरुमा असन्तुष्टि नै असन्तुष्टि

Aarati simant

धनगढी : सुदूरपश्चिम प्रदेशमा एकाएक गरिएको मन्त्रीमण्डल हेरफेरमा सत्ता गठबन्धनभित्रै चरम असन्तुष्टि देखिएको छ। शुक्रबार मध्यरातिदेखि आचारसंहिता लागू हुने र त्यसअघि सरकारमा सहभागी नगराए स्थानीय निर्वाचनमा गठबन्धन नगर्ने भन्दै कांग्रेसले चेतावनी दिएपछि एकाएक काँग्रेसमा सरकारमा सहभागी गराइएको हो।
सबैभन्दा ठूलो दल नेकपा एकीकृत समाजवादीभित्र पार्टीले सरकारको नेतृत्वका लागि पहल नगरेको, ६ महिनाअघि मात्रै मन्त्री भएकाहरूलाई छानीछानी पूर्वाग्रही ढंगले हटाएको र थपिएका मन्त्रीहरूमा पनि एक जना महिला नराखिएको भन्दै असन्तुष्टी बढेको हो।

शुक्रबार नेकपा एकीकृत समाजवादीले आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी र सामाजिक विकासमन्त्री लालबहादुर खड्कालाई फिर्ता बोलाएको थियो। आन्तरिक मामिलामा कांग्रेसका रणबहादुर रावल र सामाजिक विकासमन्त्रीमा कांग्रेसकै गोविन्दराज बोहरालाई नियुक्त गरिएको छ।

त्यस्तै, सामाजिक विकास राज्यमन्त्री रहेकी मनकुमारी साउदलाई पनि फिर्ता बोलाइएको छ। उनको स्थानमा कांग्रेसका टेकबहादुर रैका नियुक्त भएका छन्। तर, समाजवादीभित्र आर्थिक मामिलामन्त्री तारा लामा तामाङलाई फिर्ता बोलाएर समाजवादीकै प्रकाशबहादुर रावललाई मन्त्री बनाएपछि असन्तुष्टि बढेको हो। रावल यसअघि वन राज्यमन्त्री भएका थिए। उनका विषयमा सहकारीको रकमबारे समाचार आएपछि उनलाई पार्टीले फिर्ता बोलाएको थियो।

अहिले नेकपा एसका कैलाली जिल्ला इन्चार्जसमेत रहेका दीर्घ सोडारी र समाजवादीकी प्रदेश इन्चार्ज मदनकुमारी शाह (गरिमा) पनि अछामबाट झरेका हुन्। समाजवादीका ती सांसदले, दुवै जनाले भूगोलको राजनीति गरेर मन्त्री हटाएको आरोप लगाए। फिर्ता बोलाइएकी जोशी डोटी र तामाङ कञ्चनपुरका हुन्। आर्थिक मामिलामन्त्री बनाइएका प्रकाशबहादुर रावल अछामका हुन्।

सुदूरपश्चिम प्रदेश सभा ५३ सदस्यीय हो। नेकपा हुँदा नेकपा माओवादी केन्द्रबाट जितेका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा पार्टी विभाजनपछि एमालेमा लागेकाले उनको पद रिक्त छ। अहिले प्रदेशसभा ५२ सदस्यीय छ। त्यसमध्ये पनि नेकपा ९एस० का १४ सांसदसहित ठूलो दल छ। माओवादी केन्द्रका १३, कांग्रेसका १२, एमालेका ११, जसपाका १ र लोसपाका १ गरी ५२ सदस्यीय प्रदेशसभा छ।

सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्ट सुरुदेखि मुख्यमन्त्री छन्। प्रदेश सरकारमा माओवादीका दुई मन्त्री र एक राजज्यमन्त्री छन्। उद्योग वन वातावरण तथा पर्यटनमन्त्रीमा मानबहादुर धामी, भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा विनिता चौधरी र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा मानबहादुर सुनार छन्।

नेकपा एस र कांग्रेसभित्र पनि मन्त्रिमण्डल हेरफेरपछि समावेशी नभएको भन्दै असन्तुष्टि बढेको छ। शुक्रबार मात्रै सरकारमा गएको कांग्रेस संसदीय दलमा चार जना महिला सांसद छन्। तर, एक जना पनि महिला मन्त्री बनाइएनन्। बादी समुदायबाट प्रतिनिधित्व गरेकी उमा बादी, दार्चुलाबाट समानुपातिक सांसद नन्दाकुमारी बम, कैलालीबाट अम्बिका थापा र प्रदेशसभाकै ज्येष्ठ सदस्यका रूपमा रहेकी टीकेश्वरी शाह गरी ४ जना कांग्रेसका प्रदेश सांसद ९महिला० छन्। ज्येष्ठ प्रदेश सांसद भएकै कारण टीकेश्वरी शाहले संसद्को पहिलो बैठकसमेत सञ्चालन गरेकी थिइन्।

जनता समाजवादी पार्टी केन्द्रीय गठबन्धनको साझेदार हो। सुदूरपश्चिममा उसको एक मात्र सांसद छ। सांसद् मालामती रानाले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै गठबन्धन सरकारले एक मात्र सांसद भएकाले हेपेको आरोप लगाइन्। उनले, सरकारमा रहेका ३ दलहरू नेकपा एस, माओवादी केन्द्र र कांग्रेसले एक मात्र सांसद भएकाले उपेक्षा गरेको आरोप लगाइन्। कांग्रेस सरकारमा गएपछि सुदूरपश्चिममा अब ३ दलको २ तिहाइ (३९ सांसद) को सरकार बनेको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.