
उम्मेदवारी सिफारिसमा कांग्रेसको निर्देशन : विधान विपरित शुल्क नलिनू

काठमाडौं : सत्तारुढ दल नेपाली काँग्रेसले निर्वाचनमा उम्मेदवारी सिफारिस गर्दा विधान तथा नियमावली विपरित कुनै प्रकारको रकम माग नगर्न ध्यानाकर्षण गराएको छ ।
आइतबार काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सबै जिल्ला कार्यसमितिलाई पत्र लेख्दै यस्तो ध्यानाकर्षण गराएको हो । मुख्यसचिव पौडेलले पार्टीको विधान २०१७ (संशोधनसहित) तथा नियमावली २०७६ को व्यवस्था बमोजिम पार्टीको क्रियाशील सदस्य तथा लाभको पदमा रहेका पार्टी सदस्यले बुझाउनुपर्ने सदस्यता शुल्कबाहेक अन्य कुनै किसिमको रकम लिन एवम् नउठाउने विषय उल्लेख गरिएको जानकारी दिए ।
‘विभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यबाट विधान तथा नियमावली बमोजिम सम्बन्धित पार्टी निकायले लिनु पर्ने सदस्यता शुल्क तथा सहयोग रकम उठाउन बाँकी भए त्यस्तो रकम तत्काल उठाउन हुन जानकारी गराइन्छ, उक्त पत्रमा उल्लेख छ ।
