कञ्चनपुरमा विद्यार्थीले बहिस्कार गरेपछि सिटिइभिटीको परीक्षा स्थगित

कञ्चनपुर : कञ्चनपुरमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को परीक्षा स्थगित भएको छ । कोर्सविनै परीक्षा सञ्चालन गर्न खोजेको भन्दै विद्यार्थीले विरोध गरेपछि परीक्षा स्थगित भएको हो ।
कञ्चनपुरका शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीले ६ महिनामा हुनुपर्ने परीक्षा चार महिनामै गरेको र कोर्षविनै सञ्चालन गर्न खोजिएको भन्दै परीक्षा बहिष्कार गरेका थिए । सिटिइभिटीले बुधबारदेखि कञ्चनपुरसहित देशैभरि स्नातक तहका परीक्षा सञ्चालन गरिरहेको छ । तर, विद्यार्थीले परीक्षा पछि सार्नुपर्ने माग गरेका छन्। कञ्चनपुरको सिद्धनाथ विज्ञान क्याम्पसमा राखिएको सेन्टरका विद्यार्थीले कोर्ष पूरा नगरीकनै परीक्षा सञ्चालन गर्न खोजिएको र अवधिअगावै परीक्षा सञ्चालन गर्न खोजिएको भन्दै विद्यार्थी परीक्षा बहिष्कार गर्दै आन्दोलनमा उत्रिएका थिए ।

बैजनाथ इन्जिनियरिङ कलेजका विद्यार्थी गोकर्ण महरले ६ महिनाले हुनुपर्ने परीक्षा चार महिनामै सञ्चालन गरेकाले विद्यार्थी मारमा परेको बताए। ‘हामीमाथि अन्याय भयो,’ उनले भने, ‘त्यही भएर पहिलो दिनको परीक्षा बहिष्कार गरेका हौँ।’ भृकुटी मावि इन्जिनियरका विद्यार्थी भानवदेव ठगुन्नाले सिटिइभिटीका कारण परीक्षा बहिष्कार गरेको बताए । नेविसंघ कञ्चनपुरका विक्रम बुढाले विद्यार्थीमाथि घात भएकाले परीक्षा सार्नुको विकल्प नभएको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.