कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिका–११ मा पर्ने गौरीफण्टा सीमानाकाको सुरक्षाको जिम्मा पुनः कैलालीलाई हुन गएको छ ।
बैशाख १ गतेदेखि कञ्चनपुरको बिओपी डोकेबजारको टोलीले सुरक्षा दिँदै आएको नाकामा एक्कासी पुनः कैलालीलाई सुरक्षाको जिम्मेवारी तोकेको हो ।
स्वामित्व परिवर्तनका विषयमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेसँग बुझ्दा लिखित रुपमा कुनैपनि पत्र नआएको तर केन्द्रले सशस्त्र प्रहरीलाई कैलालीको डिउटी खटाउने आदेश आएको भन्ने बुझिएको बताए ।
सोहि विषयमा सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति एसपी अम्मरबहादुर ऐरले बाहिनीपति ज्युको आदेश अनुरुप नाकाको ब्यारेल डियुुटीबाट आफ्नो मातहतको टोली फिर्ता बोलाईएको बताए ।
त्यस्तै एकाएक नाकाको सुरक्षाको जिम्मा कैलालीले लिएपछि पुनर्वासका मेयर उपमेयरले पनि आपत्ति जनाएका छन् । पुनर्वासका नगरप्रमुख जिवनराज थापाले केन्द्रले कञ्चनपुरको भुमिमा कैलालीको सुरक्षाकर्मी बिना जानकारी खटाईएको प्रसंङ्ग नगरलाई नै जानकारी नदिई गर्नु गलत भएको बताए ।
त्यसैगरि नगरउपप्रमुख शारदा बिष्टले कोभिड–१९ महामारीमा कञ्चनपुरले ठूलो सास्ती भोग्नुपरेको र कञ्चनपुरको भूमिमा कैलालीले स्वामित्व लिनु न्यायोचित नभएको उल्लेख गरिन् । उनले तत्काल सुरक्षाको जिम्मा कञ्चनपुरलाई फिर्ताका लागि आफु सम्बन्धित निकायसँग समन्वय गरिरहेको जानकारी दिईन् ।
लामो समयदेखि कैलालीको सुरक्षा संयन्त्रको अधिनमा रहेको सो सीमानाका तत्कालीन कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले कञ्चनपुरकै स्वामित्वमा फर्काएका थिए । नाका कञ्चनपुरको स्वामित्वमा ल्याएपछि प्रमुख जिल्ला अधिकारी खतिवडा आफै सरुवा हुन पुगेका थिए ।