ओसिएमसि धनगढी द्वारा एक बर्ष मा १४६ महिला, बालबालिकालाई सेवा
धनगढी, ७ बैशाख : लैंगिक हिंसा सम्बन्धि एकद्वार व्यवस्थापन केन्द्र (ओसिएमसि) धनगढीमा स्थापना भएको हो । २०७५ माघ देखि धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा हिंसा पीडित महिलाहरुलाई लक्षित गरी ओरिएमसि खोलिएको हो । तीन बर्ष अगाडि धनगढी स्थापना भएको ओसिएससिका बारेमा बुधबार जानकारी दिने उदेश्यका साथ अन्र्तक्रिया कार्यक्रम भएको हो ।
जिल्लाभरिका सबै पालिकाले हेर्ने गरि यो केन्द्रको स्थापना गरिएको हो । हिंसा पीडित तथा प्रभावित व्यक्तिहरुलाई स्वास्थ्य उपचार लगायत अन्य आवश्यक सेवाहरु एकद्वारबाट पूर्णरुपमा निशुल्क उपलब्ध गराउने व्यवस्था मिलाई लैंगिक हिंसा नियन्त्रणमा योगदान पुराउने लक्ष्य केन्द्रले राखेको छ ।
कुनै पनि लैंगिक हिंसालाई एकद्वार प्रणालीबाट हल गर्न यो केन्द्रले काम गर्ने ओसिएमसि सेती प्रादेशिक अस्पतालकी फोकल पर्सन यशोदा ढकालले बताईन् । उनका अनुसार एक बर्षमा मात्र ओसिएमासिले १४३ महिला ३ पुरुष गरी एक सय ४६ वटा केस हेरेको छ । ‘ओसिएमसिमा हिंसामा परेका महिला देखि बालबालिकाहरुको सेवा दिईरहेको छ’, फोकल पर्सन ढकालले भनिन् । ‘एक बर्षमा १४ जनाले प्रसुति र १६ जनाले सुरक्षित गर्भपतन गराएका छन् ।’ ओसिएमसिमा चिकित्सक सहित ३ जना कर्मचारी रहेका छन् । ढकालले हिंसामा परेका महिला तथा बालबालिकाहरु ल्याउन अनुरोध समेत गरिन् ।
अन्र्तक्रिया कार्यक्रमका प्रमुख अतिथि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाह रहेका थिए । उनले अस्पतालको सेवाका बारेमा जानकारी पाउनु सबै नागरिकहरुको दायत्व रहेको बताए । हिंसामा परेकाहरुलाई सबैको सहयोग आवश्यक रहेको उनले बताए । ‘समाजमा सकेसम्म महिला हिंसा नै हुन दिनुहँदैन्’, उनले भने । ‘भईहालेमा त्यसको सहि रुपमा उद्धार हुन आवश्यक हुन्छ ।’ कार्यक्रम अस्पताल प्रमुख सुपरिटेण्डट डा. हेमराज पाण्डेको अध्यक्षतामा भएको हो । उनले अस्पतालको सेवा सुधारका लागि आफु आएदेखि नै लागेको बताए । पूर्ण रुपमा सेवामा सुधार नभए पनि केहिहद सम्म अस्पतालको सेवामा सुधार भएको उनको भनाई रहेको थियो । ‘अस्पतालको सेवा कुनै एक व्यक्तिको सक्रियताले मात्र हुँदैन्’, उनले भने ।‘सुधारका लागि सम्पूर्ण निकायको भूमिका उत्तिकै रहेको हुन्छ ।’ कार्यक्रममा सरोकारवाला सम्पूर्ण सरकारी र गैर सरकारी संघ संस्थाहरुको सहभागिता रहेको थियो ।
ओसिएमसिमा प्रमुख जिल्ला अधिकारी नेतृत्वमा लैंगिक हिंसा व्यवस्थापन समन्वय समिति, जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा लैंगिक हिंसा व्यवस्थापन सल्लाहकार समिति र एकद्वार संकट व्यवस्थापन केन्द्रका प्रमुख (चिकित्सक÷मेडिकल अधिकृत) को नेतृत्वमा मामिला व्यवस्थापन समिति रहेको हुन्छ ।