समाजवादीलाई सहभागि नगराएर माओवादी र कांग्रेसको छुट्टै छलफल
अत्तरिया, ७ बैशाख : सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीलाई सहभागी नगारएर नै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बीच छलफल चलाएको छ ।
सुदूरपश्चिममा तीन दल बिच पनि भागबन्डामा कुरा नमिले पनि बुधबार नेपाली कांग्रेस र माओवादीले छुट्टै छलफल गरेका हुन् । उक्त छलफलमा एकीकृत समाजवादीका कुनै पनि प्रतिनिधि उपस्थित भएनन् ।
कांग्रेस सुदूरपश्चिम सभापति वीरबहादुर बलायरले तीनै दलले धेरै स्थानीय तहमा दाबी गरेपछि छुट्टा छुट्टै छलफल गर्नु परेको दावी गरे । उनले नेकपा एकीकृत समाजवादीसँग छलफल गर्ने बताए । दार्चुला जिल्लामा कांग्रेस र माओवादी तालमेल गरेर एकीकृत समाजवादीलाई कुनै पनि पालिका नदिएको भन्दै उनीहरू रुष्ट भएका छन् । धनगढीमा पनि काँग्रेसलाई मेयर माओवादीलाई उमेयर दिएपछि असन्तुष्टिका भनाईहरु वाहिर आईरेहेका छन् ।
सुदूरपश्चिम प्रदेशमा चार दलीय तालमेल मात्रै हुने छ । पाँच दल भित्रै रहेको जनता समाजवादी पार्टीले यस अघि नै सम्मानजनक भूमिका नभएको भन्दै गठबन्धन तोडिसकेको छ । नेपाली कांग्रेस र माओवादी केन्द्र मात्रै बसेको बुधवारकै बैठकमा पनि ठोस सहमति भने भएको छैन । छलफल सकारात्मक भए पनि सहमति नभएको माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले जानकारी दिए । उनका अनुसार काँग्रेससँगको बैठकमा सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीलाई पनि व्यवस्थापन गर्ने विषयमा छलफल भएको हो । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले ५० स्थानीय तहमा दाबी गरेको छ । माओवादीले ३० स्थानीय तहमा दाबी गरेको छ । एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा २० पालिका दाबी गरेको छ ।