मुख्यमन्त्री विवाईसी महिला गोल्डकपः एपिएफ उपाधि नजिक
धनगढी : विभागीय टोली नेपाल शसस्त्र प्रहरी बलको एपिएफ क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक राखेको छ । बुधबार पाँचौ दिन धनगढी रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा अर्को विभागीय टोली नेपाल आर्मी क्बलाई हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो ।
एपिएफ आर्मीलाई ३–२ ले हराउँदै फाईनलको यात्रा तय गर्न सफल रह्यो । एपिएफलाई उपाधि नजिक पुराउन सरु लिम्बुले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरिन् । यस्तै सावित्रा भण्डारीले एक गोल गरिन् । आर्मीका लागि सपना लामा र हेमा चौधरीले एक एक गोल फर्काईन् । एपिएफका लागि सरुले पहिलो हाफको २३ औं मिनेटमा पहिलो गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाईन् । त्यसको ११ मिनेटपछि खेलको ३४ औं मिनेटमा सरुले नै व्यक्तीगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाईन् । पहिलो हाफमा २–० ले अगाडी रहेको एपिएफले दोस्रो हाफमा गोल थप्यो ।
खेलको ७१ औं मिनेटमा सावित्राले गोल गर्दै अग्रता तेब्बर बनाईन् । खेलको ८७ औं मिनेटमा आर्मीका लागि सपना लामाले गोल गर्दै अग्रता घटाईन् । अतिरिक्त समयको ९२ औं मिनेटमा आर्मीका लागि हेमा चौधरीले अर्को गोल गर्दै गोल अन्तरलाई एकमा झारिन् । त्यसपछि गोल हुन नसकेपछि एपिएफ ३–२ को जित निकाल्दै फाईनलमा पुग्यो ।