बाजुरा बूढीगंगाको चुनाव अझै अनिश्चित

अत्तरिया : सरकारले बाजुरा जिल्लामा सिडिओ र डीएसपी फेरेको छ । निर्वाचन आयोगको सिफारिसमा गृह मन्त्रालयले बाजुरामा प्रमुख जिल्ला अधिकारी (सिडिओ), सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख परिवर्तन गरेको हो ।
बूढीगंगा नगरपालिकामा वैशाख ३० मा स्थानीय चुनाव भए पनि ’बुथ कब्जा भएको’ भन्दै विरोध भएको थियो । नेपाली कांग्रेसले नेकपा एमालेका कार्यकर्ताले बुथ कब्जा गरेको आरोप लगाएको छ । एमालेले भने सत्ताको दुरूपयोग गर्दै कांग्रेसले कब्जा गरेको आरोप लगाएको छ ।
दुई दलबीचको विवादले स्थगित निर्वाचनको नयाँ मिति निर्धारण हुन सकेको छैन । कांग्रेसबाट बुढीगंगामा रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ मेयर उम्मेदवार थिए । चुनाव निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गर्न नसकेको भन्दै प्रजिअ र प्रहरी प्रमुखहरूलाई हटाएर नयाँ पठाइएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले नयाँ सिडिओको रुपमा प्रकाशचन्द्र अधिकारीलाई खटाएको छ । सशस्त्र प्रहरी प्रमुखमा गंगादत्त पन्त र नेपाल प्रहरी प्रमुखमा प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापालाई जिम्मेवारी दिइएको छ । निर्वाचन आयोगले यहाँ निर्वाचन अधिकृतसमेत पठाएको छ । पुष्पराज पाण्डे निर्वाचन अधिकृतको रुपमा आयोगले जिम्मेवारी दिएको छ ।
उक्त नगरमा मुख्य निर्वाचन अधिकृत, राजनीतिक दलका प्रतिनिधिहरू लगायतसँग छलफल गरी स्थानीय चुनावको मिति तय गर्ने तयारी गरिएको छ । पहिलेका निर्वाचन अधिकृत कृष्णप्रसाद सापकोटाले वैशाख ३० मा निर्वाचन आयोगलाई पत्र पठाउँदै बुढीगंगाको निर्वाचन स्वतन्त्र, स्वच्छ र मर्यादित नभएको बताएका थिए । यसपछि आयोगले बूढीगंगामा पुनः मतदान गर्ने निर्णय गर्दै प्रजिअ र प्रहरी प्रमुखहरू परिवर्तन गर्न सिफारिस गरेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.