अत्तरिया : मोहना–अत्तरिया ६ लेन सडकअन्तरगत ६ लेन सडकमा विरुवा रोप्न सुरु गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालकै ठूलो भाटभटेनी सुपरमार्केटले हरियाली धनगढी अभियान अन्तर्गत ६ लेनमा विरुवा रोप्न सुरु गरेको हो ।
सुपरमार्केटले निःशुल्क रुपमा धनगढी चौराहदेखि मोहनपुर एयरपोर्ट चोकसम्म विभिन्न प्रकृतिका विरुवा रोप्ने कार्य सुरु गरेको छ । धनगढीमा भाटभटेनीको नयाँ शाखा स्थापनासँगै ४ सयका विरुवा रोप्ने कार्यलाई पनि सँगसँगै अघि बढाइएको हो ।
जेठ मसान्तभित्रै धनगढी चौराहदेखि एयरपोर्टसम्म विरुवा रोप्ने काम सम्पन्न हुने भाटभटेनी सुपरमार्केट धनगढीका क्षेत्रीय प्रबन्धक विनोद भट्टराईले जानकारी गराए ।
भाटभटेनी सुपरमार्केटले रुख रोप्न सुरु गरे पनि धनगढी–अत्तरिया ६ लेन सडकअन्तर्गत मेडियनमा वृक्षारोपणका लागि विभिन्न संघसंस्थाले गरेको सम्झौता भने कार्यान्वयन भएको छैन । ग्रीनक्लिन धनगढी, माछापुछे बैंक, माया मेट्रो अस्पताल, नेपाल टेलिकम, कैलाली उद्योग वाणिज्य संघ, शारदा मावि, रोटरी क्लब अफ धनगढी, सडक विभाग, ठाकुर एग्रो ईन्डस्ट्रिज, नन्दिनाज एकेडेमी, लायन्स क्लब अफ धनगढी ग्रीन सीटी र सामुदायिक वन समन्वय समिति कैलालीले सडकको मध्य भागमा रुख रोप्न सम्झौता गरेका थिए ।
तर कसैले पनि अहिलेसम्म काम सुरु नगरेको मोहनापुल अत्तरिया सडक योजना कार्यालयका प्रमुख रामबहादुर गुरुङले बताए । भाटभटेनीबाहेक कसैले पनि वृक्षारोपण नगरेमा योजना कार्यालय आफैले विरुवा रोप्ने प्रक्रिया थाल्ने जनाएको छ । ‘सकेसम्म राज्यकोषको रकम खर्चनुभन्दा संघसंस्थाबाटै वृक्षारोपण गर्ने योजना हो । यसका लागि सम्झौता पनि भयो तर भाटभटेनीबाहेक कसैले रुख रोप्ने काम गरेका छैनन’ योजनाप्रमुख गुरुङले भने ।
सम्बन्धित पाेस्टहरु