फाप्ला खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा सुवास शाही मनोनित

अत्तरिया : फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा सुवास शाही मनोनित भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले शाहीलाई अध्यक्ष र कल्पना दियाकोटीलाई सदस्यमा मनोनित गरेको हो । ९ सदस्यीय समितिको सदस्यमा धनगढी उपमहानगरपालिका र कृष्णपुर नगरपालिकाका नगर प्रमुख पदेन रहनेछन् ।

सुदूरपश्चिम प्रदेश सरकारको खेलकुद हेर्ने मन्त्रालयका सचिव, कैलालीका प्रमुख जिल्ला अधिकारी, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन ईकाई कैलालीका प्रमुख, उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पनि विकास समितिमा सदस्य रहने छन् । राष्ट्रिय प्राथमिकताको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण सुरु गर्नका लागि सरकारले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश(२०७९ जारी गरेको थियो ।

जसमा क्रिकेट मैदान तथा खेलग्राम निर्माणका लागि ९ सदस्यीय विकास समिति गठन गर्ने व्यवस्था छ । खेलकुद व्यवस्थापन क्षेत्रमा अनुभव हासिल गरेका व्यक्तिलाई अध्यक्षमा नियुक्त गर्ने प्रावधान अनुसार शाही नियुक्त भएका हुन् । धनगढी प्रिमियर लिग डीपीएल क्रिकेट प्रतियोगिताका परिकल्पनाकार शाहीले नै फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउनु पर्ने भन्दै अभियान सुरु गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.