Agni Offset Press

नीति, कार्यक्रम र बजेटको तयारीमा स्थानीय तहहरू

Aarati simant

अत्तरिया : कैलालीका स्थानीय तहहरू आगामी आर्थिक वर्ष २०७९\८० को नीति तथा कार्यक्रम र बजेट निर्माणमा जुटेका छन् । कैलालीका स्थानीय तहहरूले असार १० गतेभित्र नगर–गाउँसभा शुरू गरिसक्नुपर्ने हुन्छ । यतिवेला सबै स्थानीय तहहरू बस्ती स्तरबाट सुझाव संकलन, माग र आवश्यकताका आधारमा छलफलमा जुटेका हुन् । प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीले वडा स्तरबाट योजना तथा कार्यक्रम माग गरि विषयगत शाखा कार्यालयहरूसँग पनि छलफल गरिसकेको जनाएको छ । उपमहानगरपालिकाको कार्यालयले नीति तथा कार्यक्रम ल्याउने अन्तिम चरणमा पुगेको जनाएको छ ।

वडाबाट आएका योजना तथा कार्यक्रम र शाखा कार्यालयबाट आएका सुझावका आधारमा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउन लागेको जनाइएको छ । उपमहानगरपालिकाले मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको उपमहानगरपालिकाका सूचना अधिकारी सुरेन्द्र कार्कीले जानकारी दिए ।

गत आइतबार बसेको नगर कार्यपालिकाको चौथो बैठकमा विषयगत शाखा प्रमुख तथा जनप्रतिनिधिसंग छलफल भएको उनले बताए । उनले आज १ बजे उपमहानगरपालिका परिसरमा नगर सभा शुरु हुने बताए । नगरसभामा उपप्रमुख कन्दकला रानाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

कैलालीको गोदावरी नगरपालिकाले असार १० गते नगर सभा आयोजना गरि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने नगर प्रमुख विरेन्द्र भट्टले जानकारी दिए । उनले भने– हामी अहिले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारी जुटेका छौं । आगामी आर्थिक वर्षमा हामीले पूर्वाधार विकास तथा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेका छौं ।

नगर प्रमुख भट्टले विषयगत शाखाहरूसँग छलफल गर्न बाँकी रहेकाले बढी प्राथमिकतामा कुन क्षेत्र रहने भन्ने टुङ्गो नलागेको बताए । कैलारी गाउँपालिकाले पनि असार १० गते गाउँ सभा गर्ने जनाएको छ । गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले अहिले आफूहरू छलफलमै रहेकाले नीति तथा कार्यक्रमको प्राथमिकता अझैं निर्धारण भइनसकेको बताए । उनले भने– पूर्वाधार विकास, खानेपानी, स्वास्थ्य, कृषि लगायतका क्षेत्रलाई नै प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउँछौँ ।

कैलालीका अन्य स्थानीय तहहरू पनि अहिले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको निर्माणमा व्यस्त रहेका छन् । स्थानीय तहहरूले वडा स्तरबाट योजना ल्याउन विभिन्न टोल तथा बस्तीमा जनप्रतिनिधि तथा कर्मचारी खटिएका छन् । कैलालीको जानकी गाउँपालिकाले बस्ती स्तरबाट योजना छनोट गरी विभिन्न समितिमा छलफल गरिरहेको छ । जानकी गाउपालिकाले असार ७ र ८ गते गाउँसभा गर्ने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले जानकारी दिए ।

Goda1
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.