धनगढी उपमहानगरपालिकाको बजेट एक अर्ब ८३ करोड बढी
धनगढी : सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीले आगामी आर्थिक वर्ष २०७९\८० लागि एक अर्ब ८३ करोड बढी बजेट प्रस्तुत गरेको छ । शुक्रबार धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले एक अर्ब ८३ करोड ८९ लाख २४ हजार अनुमति रकम आठौं सभाको दोस्रो बैठकमा प्रस्तुत गरेकी हुन ।
आगामी आर्थिक वर्षका लागि चालुतर्फ एक अर्ब तीन करोड १९ लाख ७० रुपैयाँ र पुँजीगततर्फ ८० करोड ६९ लाख ५३ हजार रुपैयाँ विनियोजन गरेको हो । चालु आर्थिक वर्षको जेठ महिनासम्म कुल बजेटको ५३ दशमलब ३० प्रतिशत रकम वित्तिय प्रगति रहेको उपमहानगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा एक करोड छ लाख ३१ हजार आठ सय ९७ रकम थप गरी आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ ।
उपमहानगरपालिकाले आन्तरिकतर्फ २६ करोड ७९ लाख २४ हजार, राजश्व बाँडफाँटतर्फ ४७ करोड २९ लाख ३३ हजार, संघिय सरकारको अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ ९६ करोड ४८ लाख, प्रदेश सरकारको अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ ३५ करोड ३४ लाख पाँच हजार र सरी आएको १० करोड रकमलाई आयतर्फ विनियोजन गरेको छ । उपमहानगरपालिकाले सबैभन्दा बढी बजेट सामाजिक विकासतर्फ विनियोजन गरेको छ । उपमहानगरपालिकाले सामाजिक विकासतर्फ ७४ करोड ७८ लाख ३३ हजार विनियोजन गरेको छ । जो कुल बजेटको ४० दशमलब ६४ प्रतिशत हो ।
उपमहानगरपालिकाले आर्थिक विकासतर्फ कुल बजेटमध्ये १४ करोड ४२ लाख ११ हजार (सात दशमलब ८४ प्रतिशत), पूर्वाधार विकासतर्फ ४५ करोड १० लाख ५२ हजार ९२४ दशमलब ५३ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ सात करोड ७३ लाख २१ हजार (चार दशमलब दुई प्रतिशत) र कार्यालय संचालनतर्फ ४१ करोड ८५ लाख सात हजार (२२ दशमलब ७६ प्रतिशत) विनियोजन गरेको छ । उपमहानगरपालिकाले सामाजिक सुरक्षाबाट ५० करोड, सडक बोर्ड नेपालबाट एक करोड, अन्य कार्यक्रम अनुदानबाट एक करोड र नगरपालिकाभित्र कार्यक्रम संचालन हुने विभिन्न संघसंस्थाबाट १७ करोड ११ लाख ६२ हजार रकम गरी ६९ करोड ११ लाख ६२ रकम आगामी आर्थिक वर्षमा आय\व्ययतर्फ थप हुने अनुमान गरेको छ ।