महाकाली सन्धिको अढाइ दशकपछि मूल नहरमा पानी

कन्चनपुर : नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत सिँचाइका लागि पानी पाउने भएको छ । विसं २०६३ देखि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवबाट मूल नहरको काम प्रारम्भ भएको हो ।

भारतले नेपालको भूमिसम्म एक हजार २०० मिटर मूल नहर र हेडरेगुलेटरलगायत संरचना निर्माण गर्न झण्डै दुई दशक समय खर्चियो । केही समयअघि मात्रै भारतीय पक्षले सन्धि अनुसार बनाउनुपर्ने मूल नहर र संचरना तयार गरेपछि महाकालीको पानी मूल नहरमार्फत सिँचाइका लागि यहाँ आउने भएको हो । महाकाली सिँचाइ आयोजना तेस्रो चरणले यही असार १५ गते धान दिवसका अवसरमा मूल नहरमा पानी ल्याएर दिवस मनाउने तयारी गरिरहेको छ ।

भारतले निर्माण गरेको नहरमा पानी परीक्षण गर्न तीन÷चार दिन लाग्ने जानकारी गराएको पण्डितले बताए । भारतीय नेशनल हाइड्रोपावर कर्पोरेशन ‍(एनएचपीसी)ले पानी परीक्षणको तयारी गरेको छ । महाकाली सिँचाइले यसअघि ब्रह्मदेवदेखि करिब १३ किलोमिटर मूल नहर निर्माण गरिसकेको छ । थप १५ किलोमिटर नहर निर्माण कार्य अन्तिम चरणमा छ । मूल नहरको २८ किलोमिटर तयार हुन एक दशकभन्दा बढी समय खर्च भइसकेको स्थिति छ । निर्माणाधीन १५ किलोमिटर मूल नहर (शुक्लाफाँटा नगरपालिकाको टोटी फुलेली) सम्म तीन प्याकेजमा निर्माण भएपछि काम सम्पन्न हुनेछ । अहिले थप दश किलोमिटर मूल नहर निर्माणका लागि बोलपत्र प्रक्रिया समेत अघि बढेको पण्डितले जानकारी दिए ।

आर्थिक वर्ष २०७९÷८० का लागि सरकारले रु एक अर्ब २६ करोड विनियोजन गरेको आयोजनाले जनाएको छ । लामो समय मुआब्जा अल्झन्, रकम अभावलगायत कारणले नहर निर्माणमा ढिलाइ भएको थियो । पछिल्लो समय निर्माणले गति लिएको छ । मूल नहरसँगै करिब पाँच हजार ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यसहित शाखा नहर निर्माण प्रक्रिया अघि बढेको छ ।

आयोजनाले २२ शाखा नहर निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको छ । शाखा नहर निर्माणपछि भीमदत्त नगरपालिका, बेदकोट र शुक्लाफाँटा नगरपालिकाका केही क्षेत्रका किसानले सिँचाइ सुविधा पाउनेछन् । आयोजनाअन्तर्गत १५१ किलोमिटर नहर निर्माण भए कञ्चनपुर र कैलालीको मालाखेती क्षेत्रको ३३ हजार ५०० हेक्टर जमिनलाई सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ ।

हालसम्म आयोजनामा रु चार अर्ब खर्च भइसकेको छ । चुरेको फेदबाट निर्माण भइरहेको मूल नहरले कैलालीको मालाखेती र कञ्चनपुरको दक्षिण क्षेत्र पुर्नवासमा सिँचाइ पुर्याउने लक्ष छ । रासस

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.