बझाङमा जिप दुर्घटना, चालकसहित ६ जना घाइते
बझाङ : बझाङमा जिप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् । जिल्लाको दुर्गाथली गाउँपालिका–३ रकैलतर्फ गइरहेको सुदुरपश्चिम प्रदेश ०१००१ ज १३९९ नम्बरको जिप सडकबाट करिब ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
दुर्घटनामा परेर दुर्गाथली गाउँपालिका–७ का ४० वर्षीय चालक रुपाल जप्रेल, दुर्गाथली गाउँपालिका शिक्षा शाखा संयोजक बैतडीको सुनर्या गाउँपालिका –२ घर भएका ४५ वर्षीय ललितकुमार पाण्डे, दुर्गाथली गाउँपालिका–५ का वडाध्यक्ष ४५ वर्षीय वकिल जप्रेल, दुर्गाथली गाउँपालिका–७ का ५२ वर्षीय उद्धव सिंह, दुर्गाथली गाउँपालिका –४ का ४८ वर्षीय खगेन्द्र मिश्र र दुर्गाथली गाउँपालिका–७ का ४० वर्षीय विष्णुबहादुर दौल्याल रहेका छन् ।
घाइतेहरुको हात, खुट्टा, टाउको, कम्मरमा चोट लागे पनि अवस्था सामान्य रहेको दुर्घटनामा परी घाइते भएका खगेन्द्र मिश्रले बताए । घाइतेहरुलाई जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी जनक ढुंगानाले जानकारी दिए ।