जसले गाडीमा लिफ्ट मागे, उनैले कुटपिट गर्दै गाडी लुटेर लगे

अत्तरिया : कञ्चनपुरबाट डडेलधुरा जाँदै गरेका लोकेन्द्रसिंह भण्डारीलाई महेन्द्रनगरमा अपरिचित तीन जनाले लिफ्ट मागे । उनीहरुले गाडीमा इन्धन हालिदिने भन्दै आफूहरुलाई कैलालीको खानिडाँडा सम्मका लगि लिफ्ट दिन आग्रह गरे । आफू सोही बाटो हिड्न लागेको र गाडीमा सिटसमेत खाली भएपछि भण्डारीले उनिहरुलाई आफ्नो गाडीमा ल्याएर आए ।

महेन्द्रनगरबाट लिफ्ट मागेर आएका उनै ३ जनाले कैलालीको गोदावरी ४ मा आइपुगेपछि फोटो खिच्ने बहाना बनाए । त्यसपछि गाडीबाट झरेका उनीहरुले भण्डारीलाई कुटपिट मात्रै गरेनन् उनको गाडीसमेत लगेर फरार भए । ‘महेन्द्रनगरमा लिफ्ट मागे । तीन जनालाई सँगै ल्याए, यहाँ रोकेर फोटो खिचौँ भने,’ निर्घात कुटपिट तथा लुटपाटमा परेका भण्डारीले भने, ‘गाडी रोकेपछि मेरो हातमुख बाँधेर ढुंगाले हिर्काए गाडी उतै फर्काएर लगे ।’

गोदावरीबाट उनै लिफ्ट माग्ने तीन जनाले भण्डारीबाट प्रदेश ३–०१–०२३ च ८७२१ नम्बरको सिल्भर कलरको कारसहित नगद र अन्य सरसामानसमेत लुटेर भागेका छन् । अहिले घाइते भण्डारीको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको छ । लुटिएको गाडी र लुट्नेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । कञ्चनपुरको बेदकोट समैजीबस्ने भण्डारी डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.