पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
धनगढी : कैलालीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ८ मलभङ्गा बस्ने लालबहादुर विष्टकी ७ वर्षीया छोरी आश्रिया विष्ट र सोही ठाउँ बस्ने भीमबहादुर कुँवरकी छोरी ६ वर्षीया भावना कुँवरको मृत्यु भएको हो ।
सोमबार बेलुका सोही ठाउँको बडिमालिका इटाभट्टाको पछाडि खेलिरहेका उनीहरू पोखरीमा डुबेको कैलाली प्रहरीले जनाएको छ ।
घाइते अवस्थामा उद्धार गरिएका उनीहरूको बर्दगोरिया–१ मा रहेको खापर हेल्थ क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।