माओवादी दलको बैठक : मन्त्री परिवर्तन गर्ने छलफल

धनगढी, १८ असार : सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले यथास्थितिमा बजेट पारित गर्न नसकिने ठहर गरेको छ ।

शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको संसदीय दलको बैठकमा माओवादी केन्द्रका प्रदेश सभा सदस्यहरूले बजेटमा अत्यधिक त्रुटि रहेको भन्दै त्यसको खरो विरोध गरेका थिए । उपस्थित भएका अधिकांशले अहिलेको अवस्थामा बजेटमा समर्थन गर्न नसकिने समेत मुख्यमन्त्री त्रिलोचन चट्टलाई जानकारी गराएका थिए ।
बजेटलाई सुधार गर्ने, त्रुटिहरू हटाउने र सरकारमा रहेका अन्य दलहरूसँग पनि छलफल गरेर बजेट परिष्कृत गर्न पहल गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए । ‘यथास्थितिमा बजेट पारित गर्न नसकिने बताएपछि परिष्कृत गर्ने र पारित गर्ने निर्णय भएको छ’ नेताले भने, ‘अहिलेको अवस्थामा बजेटमा समर्थन गर्न सकिने अवस्था नरहेको बारे सबैले स्पष्ट पारेका थिए ।’

संसदीय दलको बैठकमा वीरमान चौधरी बाहेकका सबै प्रदेश सभा सदस्यहरूको उपस्थिति रहेको थियो । भोलि देखि सुरु हुने केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन उनी काठमाडौँ गएका छन् । बिहान ७ बजे बसेको बैठक १० बजे सम्म चलेको थियो । बैठकमा सहभागी भएका सबै प्रदेश सभा सदस्यहरूले मुख्यमन्त्रीलाई बजेट प्रति गुनासो गरेका थिए । मुख्यमन्त्री भट्ट माओवादी संसदीय दलका नेता हुन् ।

सबैको गुनासो सुनेपछि मुख्यमन्त्री भट्टले प्राविधिक त्रुटि भएको स्वीकार गरेका थिए। उनले अन्तिममा आफूले पनि बजेट हेर्न नपाएको गुनासो गरेका थिए । ‘मैले पनि बजेट हेर्न पाएन पछि लक भयो । किताब छाप्ने कुरामा पनि त्रुटि भएको छ ’ मुख्यमन्त्री भट्टले दलको बैठकमा भनेका थिए । उनले मन्त्रालयका केही योजना छुटेका केही दोहोरिएको समेत बताएका थिए । नपर्नु पर्ने योजना परेको , प्रदेश सभा सदस्यहरूले दिएका योजनाहरू पनि छुटेको भन्दै उनले पनि बैठकमा गुनासो गरेका थिए ।

बैठकमा केही प्रदेश सभा सदस्यहरूले मन्त्री परिवर्तनको विषय पनि उठाएका थिए । ‘चुनावी सरकार हो पालो अरूलाई पनि दिनु पर्छ भन्ने कुरा आएको छ’ ती नेताले भने, ‘माओवादी केन्द्रको बैठक पछि मन्त्री परिवर्तन हुन सक्ने कुरा आएको छ । ’

असार १ गते प्रदेश सभामा प्रदेश अर्थमन्त्री प्रकाश रावलले प्रस्तुत गरेको बजेटमाथिको छलफल अझै सुरु हुन सकेको छ । सत्ता पक्ष र प्रतिपक्षका प्रदेश सभा सदस्यहरूले बजेट संशोधन नहुँदा सम्म बजेट माथि छलफल हुन नसक्ने बताउँदै आएका छन् ।

उनीहरूकै विरोधका कारण लगातार तीन पटक सम्म प्रदेश सभाको बैठक स्थगित भएको थियो । दलहरू बिच बजेटलाई लिएर सहमति नभएको हुँदा अब कहिले बस्ने भन्ने बारे टुङ्गो छैन । यस अघि नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठकमा पनि बजेट त्रुटिपूर्ण रहेको भन्दै अर्थमन्त्रीको आलोचना भएको थियो । अर्थमन्त्री रावल नेकपा एसबाटै मन्त्री भएका हुन् । नेकपा एकीकृत समाजवादी पछि सरकारको नेतृत्व गरेको माओवादीले पनि बजेट त्रुटिपूर्ण रहेको ठहर गरेपछि बजेट संशोधन गर्न अर्थमन्त्रीलाई दबाब पुगेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.