धनगढी, २० असार : कैलालीका नदीमा दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिन देखिन थालेको छ । नदीमा जलस्तर बढेपछि मोहना, पथरैया, कांडा लगायतका नदीमा डल्फिन देखिन थालेका हुन् ।
यहाँको नदीमा हरेक मनसुनमा डल्फिन देखिने गर्दछ । यो वर्ष अहिले कम्तीमा ठुला र सानागरी ११ वटा डल्फिन देखिएको स्थानीय संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताए । उनले नदीमा पानी बढेपछि मोहना र पथरैया नदीको दोभानमा ८ वटा वयस्क र तिन बच्चा डल्फिन देखिएको बताए ।
मज्जाले नजिकैबाट डल्फिन देख्न पाइने उक्त दोभानहरू टीकापुर नगरपालिका–७ बैदीस्थित ढुङ्गाना टोल नजिक पर्दछ । गतवर्ष यहाँको नदीमा असार १ गतेबाट नै डल्फिन देखिन थालेका थिए । तर, यो वर्ष मनसुन ढिलो गरी सक्रिय भएकाले असार १५ गतेदेखि कैलालीको नदीहरूमा डल्फिन देखिन थालेको हो । मनसुनभरि नै यहाँको नदीमा डल्फिन हेर्न सकिने ढुङ्गानाले जानकारी दिए ।
नदीमा जलस्तर बढ्दै गएपछि कर्णाली नदीको रैथाने र भारतको घांङरा नदीबाट जलबिहारका लागि डल्फिन आउने गरेको बताइन्छ । मनसुनमा यहाँ देखिने गङ्गेटिक प्रजातिको डल्फिन चेतनशील जलप्राणी हुन् । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयुसीएन) ले यो प्रजातिलाई लोपोन्मुख भन्दै रातो सूचीमा राखेको छ । विश्वमै दुर्लभ यो जलप्राणी कैलालीको नदीहरूमा बच्चा हुर्काउनका लागि आउने गरेको स्थानीय संरक्षणकर्मीहरू बताउँछन् । गङ्गेटिक डल्फिन स्वच्छ पानीमा बस्न र बिहार गर्न रुचाउँछन् ।
माछालगायतको जलीय जीव डल्फिनको आहारा हो । कैलालीमा झन्डै तीन दशकदेखि स्थानीयस्तरबाट डल्फिनको संरक्षण हुँदै आएको छ । गुलेली बाँजेको नामले परिचित स्थानीय भोजराज श्रेष्ठको अगुवाइमा संरक्षण कार्य हुँदै आएको हो । प्राणीविद् मुकेशकुमार चालिसेको अगुवाइ र स्थानीयको सहभागितामा यहाँको नदीमा दुई पटक डल्फिन गणना गरिएको छ । सन् २०१६ मा गणना गर्दा वयस्क र बच्चा गरी ६२, २०१८ मा ३७ र २०२१ मा ६३ वटा डल्फिन फेला परेको संरक्षणकर्मी ढुंगानाले बताए । कैलालीका नदीहरूमा डल्फिलका लागि आहाराको कमी हुुँदै गएर डल्फिनलाई असर परेको बताइन्छ ।
डल्फिनको आहारा प्रजातिमा ह्रास आउनुको मुख्य कारण मानवीय गतिविधि नै रहेको छ । महाजाल हालेर माछा मार्ने, खेतमा अत्यधिक विषादी हाल्ने लगायतको कारणले डल्फिनलाई असर पुगेको स्थानीय संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए । यसैगरी, डल्फिन देखिने नदीहरूमा प्रशस्त मात्रामा घडियाल र मगर गोही पनि हेर्न सहिन्छ । उक्त क्षेत्रमा घडियाल र मगर गोही प्रायः सबै समय बस्ने गरेको जनाइएको छ ।