अछाम : अछाम जिल्ला प्रशासन कार्यालयले सदरमुकाम मंगलसैनका विभिन्न ६ ठाउँ र आसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
जिल्ला सुरक्षा समिति अछामको मङ्गलवार बसेको बैठकले तोकिएका ६ ठाउँमा विरोधका कार्यक्रम नगर्न नगराउन तथा बाधा अवरोध नगर्न निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।
मंगलसैन दरबार क्षेत्र, जिल्ला अदालत क्षेत्र, सरकारी वकिल कार्यालय क्षेत्र, वैरागी धारा बस काउण्टर क्षेत्र, मंगलसैन नगर कार्यालय क्षेत्र तथा कृषि ज्ञान केन्द्र आसपासको जीप काउण्टर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको सुचना जारी गरिएको छ ।
जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नं. ४ मा बस्ने बलबहादुर शाहीका छोरा विनोद शाहीको विषयलाई लिएर कार्यालय तोडफोड गर्ने, आगजनी गर्ने, कर्मचारीलाई पटक पटक धम्की दिने दैनिक कामकाजमा बाधा अवरोध गर्ने लगायतका कुनै पनि कार्य नगर्न उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । निषेधित क्षेत्र उलघंन गरे कानुनी कारबाही हुने जिल्ला प्रशासन कार्यालय अछामद्वारा जारी पत्रमा उल्लेख गरिएको छ ।