अत्तरिया : युवा संगठन नेपाल कैलालीले आफ्नो नेता तथा कार्यकर्ता रिहाइको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । कैलालीको टीकापुरबाट पक्राउ गरिएका युवा संगठन नेपालका उपाध्यक्ष दिनेश बि.क.,कैलाली जिल्ला सदस्यहरू जयसिहं सुनार र पवन बिष्टलगायतका सम्पूर्ण नेता तथा कार्यकर्ता रिहाइको माग गर्दै प्रमुख जिल्ला अधिकारी किरण थापामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
युवा संगठन नेपालका कैलाली संयोजक पुष्प भट्टले सरकारले आफ्नो संगठनका उपाध्यक्ष लगायतलाई गिरफ्तार गरी झुटो मुद्दा लगाएको बताउँदै अविलम्ब रिहाइ गर्न माग गरे।
ज्ञापनपत्र पश्चात आयोजित छलफलमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य भगतसिहंले आफ्नो पार्टीले गरेको सामाजिक विकृति, बेथिति र भ्रष्टाचारविरुद्ध चरणवद्ध संघर्षबाट आत्तिएको सरकारले बिनाकारण नेता तथा कार्यकर्ता गिरफ्तार गरिरहेको बताउँदै रिहाइ गर्न माग गरे। सरकार तीन बुँदे सहमतिलाई कार्यान्वयन गर्न उदासीन रहेको उल्लेख गर्दै राज्यको यस्तो रवैया रहे विद्रोह निम्तिने चेतावनी दिए ।