बाजुरा : बाजुराको बुढीगंगा नगरपालिकामा मतदान सम्पन्न भएको छ । बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो ।
वैशाख ३० गते धाँधली भएको भन्दै स्थगित भएको बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार पुनः मतदान भएको हो । मतदानमा ६६.७५ प्रतिशत मत खसेको छ । वैशाख ३० गतेको निर्वाचनमा बाजुरामा ७५.५८ प्रतिशत मत खसेको थियो । बुढीगंगा नगरपालिका वडा नम्बर ९ बाहेक अन्य सम्पूर्ण ठाउँमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको निर्वाचन अधिकृत लक्ष्मणबहादुर कठायतले बताए ।
गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो । बुढिगंगा ९ को त्रिशक्ति मतदान केन्द्रमा सामान्य विवादपछि प्रहरीले थप झडप हुन नदिन हवाई फायर गरेको थियो । अन्य ठाउँमा भने कुनै पनि विवाद नभएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । त्रिशक्ति मतदान केन्द्रमा पनि ३५ मिनेट जति मतदान रोकिएर पुनः सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए ।
बुढिगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरी एउटा स्थलमा एक सयभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए । बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । १० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यलय बाजुराले जनाएको छ । नगरप्रमुखमा नेपाली कांग्रेसबाट रंगबहादुर खाती र नेकपा एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार रहेका छन् ।