धनगढी : कैलालीमा लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको पाइएको छ। भारतीय सीमासँग जोडिएको कैलालीमा गत वर्षभन्दा चालु आर्थिक वर्षमा दोब्बर बढी लागूऔषध प्रयोगकर्तालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्यांक अनुसार चाल आर्थिक वर्ष २०७८\७९ को जेठ ३१ गतेसम्म लागूऔषधसहित २७३ जनालाई पक्राउ परेका छन्। पक्राउ परेकामध्ये ११ जना महिला रहेका छन्।
प्रहरीले सो अवधिमा १७१ मुद्दा दर्ता भएको जनाएको छ। पक्राउ परेकाबाट ब्राउन सुगर, नाईट्रोभेट, चरेश, खैरो हेरोइन बरामद भएको प्रहरीको तथ्यांकमा उल्लेख छ। गत आर्थिक वर्ष २०७७\०७८ मा प्रहरीले १३२ जनलाई लागूऔषधसहित पक्राउ गरेको थियो। पक्राउ परेकोमध्ये ६ जना महिला छन्। उक्त अवधिमा प्रहरीले ९१ वटा मुद्दा दर्ता गरेको छ।
आर्थिक वर्ष २०७६\७७ मा लागूऔषधसहित १६१ जनालाई पक्राउ गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ। सो अवधिमा ९८ मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ। पक्राउ परेकाबाट ब्राउन सुगर, गाँजा, नाईट्रोभेट, स्पास्मो, कोरेक्स र चरेश बरामद भएको तथ्यांकमा छ।
प्रहरीले तीन वर्षमा ५६६ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ। प्रहरीले सो अवधिमा ३६० मुद्दा दर्ता गरेको छ। पक्राउ पर्नेमा सबैभन्दा बढी ब्राउन सुगरसहितका रहेको कैलाली प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार जिल्लाको त्रिनगर भन्सार, गोदावरी, टीकापुर, भजनी, लम्की र चिसापानीबाट उनीहरू पक्राउ परेका हुन्।
प्रहरीले तीन वर्षको अवधिमा कैलालीमा पक्राउ परेकाबाट ठूलो परिणाममा ब्राउन सुगर, गाँजा, चरेश, नाईट्रोभेट, स्पास्मो, कोरेक्स बरामद गरेको छ। पक्राउ परेकाबाट प्रहरीले ९१३ ग्राम ९३१ मिलिग्राम ब्राउन सुगर, ७० किलो ६३५ ग्राम चरेश, ३५ किलो ४१९ ग्राम गाँजा, नाईट्रोभेट ६ हजार ७४४ ट्याब्लेर, स्पास्मो दुई हजार ६५५ ट्याबलेट बरामद गरेको प्रहरीको तथ्यांकमा छ। कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले लागूऔषध नियन्त्रमा प्रहरीले कडाई गरेको बताए। प्रहरी नायव उपरीक्षक जोशीले लागूऔषध नियन्त्रण गर्न भन्सार लगायत सीमा क्षेत्रमा कडाई गरे पनि खुला सीमानाकाका कारण लागूऔषध ओसारपसार कर्तालाई नियन्त्रणमा लिन चुनौति रहेको बताए।
उनले लागूऔषध न्यूनिकरणका लागि बिभिन्न संघसंस्थासंगको सहकार्यमा विद्यालय, क्याम्पस तथा सार्वजनिक स्थानमा अभिमुखिकरण तथा सचेतना कार्यक्रम सञ्चालन गरिरहेको बताए।