सुदूरपश्चिममा बजेटमा अझै जुटेन सहमति, पाँचौँ पटक पनि संसद् स्थगित

अत्तरिया : सोमबार ११ बजे बस्ने भनिएको सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठक ३ बजे सम्मका लागि स्थगित भएको छ । यो सँगै लगातार बैठक पाँच पटक सम्म स्थगित भएको हो । यस अघि ८, १२, १६ र २६ गते प्रदेश सभा बैठक स्थगित भएको थियो । असार १ गते प्रदेश सभामा पेस भएको आगामी आर्थिक वर्षको बजेट परिष्कृत नगर्दा सम्म त्यसमाथि छलफल हुन नसक्ने अडान सत्ता पक्ष र प्रतिपक्षले राखेपछि निरन्तर संसद् स्थगित गरिएको हो ।

प्रदेश सभा सदस्य यथास्थितिमा बजेट पारित गर्न नदिने मुडमा छन् भने सरकारले बजेट पारित गर्न दबाब दिइरहेको पाइएको छ । हिजो यसै विषयमा आफ्नै दलका मन्त्री र सांसदबीच चर्काचर्की परेको थियो । आज बिहान ८ बजे सम्म सहमति गर्ने त्यसपछि ११ बजे संसद् सुरु गर्ने तयारी गरिएको भएपनि आज बिहान सम्म सहमति हुन नसकेपछि बैठक सारिएको हो ।

८ बजे बोलाइएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सत्ता पक्ष र विपक्षमा सांसदहरूले पुरानै अडान लिएका थिए । सरकारको तर्फबाट बैठकमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री उपस्थित थिए । उनी माओवादी केन्द्रका मन्त्री हुन् । माओवादी केन्द्रका मन्त्री उपस्थित भएको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक अक्कल रावल र सांसद विरभान चौधरीले अहिलेकै अवस्थामा बजेट माथिको छलफल हुन नसक्ने बताएका थिए । कार्य व्यवस्था परामर्श समितिका सबै जसो सांसदहरूले बजेट परिष्कृत गर्न सरकारलाई सुझाव दिएका छन् ।

मन्त्री र सांसद बिच सहमति नभएपछि आ–आफ्नो संसदीय दलबाट यसको निकास दिने भन्दै बैठक ३ बजे सम्म सारिएको प्रदेश सभा सचिवालयका सचिव देव बहादुर बोगटीले जानकारी दिए । उनका अनुसार यस पछि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने छैन ।
सुदूरपश्चिममा माओवादीको नेतृत्वमा तीन दलीय सरकार रहेको छ । अहिले तीनै दलका सांसदहरू बजेट परिष्कृत गर्नु पर्ने बताइरहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.