बाजुरा जिल्ला समन्वयमा एमालेको एकलौटी

बाजुरा : बाजुरा जिल्ला समन्वय समिति नेकपा एमालेले एकल बनाएको छ। नौ पालिका मध्ये ६ पालिका जितेको एमालेले सिंगो समन्वय समिति नै निर्विरोध एकलौटी बनाएको हो। समन्वय समितिका प्रमुख उपप्रमुखसहित नौ जनाको समिति एकल बनाएको पार्टी सचिव भरत थापाले बताएका छन्।

प्रमुख तुलसीराम रोकाया र उपप्रमुख लाछु सार्की रहने गरि नौ सदस्यीय समन्वय समिति एकल बनाएको हो। एमालेले नौ वटै पालिकालाई समेटिने गरि नौ जना समन्वय समितिका लागि सिफारिस गरेको थियो। अर्को दलको कुनै उम्मेदवारी नै नपरेपछि मुख्य निर्वाचन कार्यालयले निर्विरोध समिति घोषणा गरेको थियो।
निर्विरोध घोषणा गरिएको समितिका प्रमुख उपप्रमुख र सदस्यलाई आइतबार पद तथा गोपनीयताको सपथ ग्रहण गराईएको छ। मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिस माधव प्रसाद धिमिरेले सपथ ग्रहण गराएका हुन्। सपथ ग्रहण समारोहमा प्रतिनिधी सभा सदस्य एवं नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापा, निवर्तमान समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया, नेकपा एमालेका अध्यक्ष कालीबहादुर शाही, बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का, खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर रावत, प्रमुख जिल्ला अधिकारी प्रकाशराज अधिकारी सहीत सहभागि थिए।

समन्वय समितिमा नेकपा एमालेले प्रमुखमा तुलसीराम रोकाया, उपप्रमुखमा लाछु सार्की, खुला सदस्यमा हिक्मतबहादुर थापा, मनराज भण्डारी र लालबहादुर महत्तरालाई पठाएको छ। यस्तै महिला सदस्यमा कल्चुदेबी रावत, कल्धरा बुढा, लक्ष्मी बुढा साउँद र दलित महिला सदस्यमा रम्ब देबी विकलाई पठाएको छ।

निर्विरोध नयाँ समन्वय समितिले आइतबार देखि नै पदभार ग्रहण गरि कार्य प्रारम्भ गरेको छ। बैशाख ३० को निर्वाचन रद्द गरि बुढीगंगा नगरपालिकामा पुन असार २३ गते निर्वाचन गरिँदा बाजुरा जिल्ला समन्वय समिति गठनमा ढिलाई भएको हो। बुढीगंगा नगरपालिकाले नयाँ जनप्रतिनिधी पाएसँगै बाजुरा समन्वय समिति पनि बनेको हो।

नौ वटा पालिका मध्ये बाजुरामा ३ नगरपालिका र ३ गाउँ पालिकाले नेकपा एमालेले जितेको छ। भने १ नगरपालिका र २ गाउँपालिका नेपाली काँग्रेसले जितेको छ। १८ जना मतदाता मध्ये एमालेसँग १२ र काँग्रेससँग ६ जना मात्र छन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा ७ जना एमाले र ११ जना काँग्रेसको थियो। निर्वाचित समन्वय समितिलाई जनताको पक्षमा रही काम गर्न र नौ वटै पालिकाको समानुपातिक विकासका लागि समान दृष्टिकोणबाट सहजिकरण गर्न प्रतिनिधी सभा सदस्य लालबहादुर थापाले सुझाव दिएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.