चुरेमा पहिरोले ३५६ परिवारको उठिवास, त्रिपालमुनि बास

धनगढी : कैलालीको चुरे गाउँपालिकामा पहिरोले ३५६ परिवारको उठिवास भएको छ । पहिरोका कारण विस्थापित भएका उनीहरु करिव एक वर्षदेखि चुरे गाउँपालिकाको वडा नम्बर ४ स्थित राष्ट्रिय वन क्षेत्रमा अस्थायी टहरो बनाएर त्रिपालमुनि बस्दै आएका छन् ।

गत वर्षको साउनमा आएको पहिरोले दुई सय बढी र त्यसपछि बार्तिकको बेमौसमी वर्षाका कारण पहिरो खस्न थालेपछि थप परिवारहरु विस्थापित भएका थिए । पनेरु गडा र ताग गडामा बसिरहेका पहिरो प्रभावितहरु अहिले वर्षायाममा कष्टकर समय बिताउन बाध्य भएका हुन् । चुरे गाउँपालिकाको कार्यालयले भने प्रभावितहरु पुरानै स्थानमा फर्कन सक्ने सम्भावना नरहेको जनाएको छ ।

उनीहरुको पुरानो थातथलोलाई पहिरोले तहसनहस पारिसकेको छ । कतिपय गाउँको जमिननै भासिएको बताइएको छ । विस्थापित परिवारले आफूहरुको सुरक्षित स्थानमा पुनस्र्थापना गरिनु पर्ने माग गर्दै आएका छन् । पहिरोले जग्गाजमिन नै तहसनहस पारिसकेकाले पहिलेको ठाउँमा फर्कन नसकिने वडा नम्बर ६ का पहिरो पीडित पूर्णबहादुर कार्कीले बताए ।

विस्थापित परिवार धेरै रहेकाले उनीहरुको व्यवस्थापन गर्न नसक्ने गाउँपालिकाको कार्यालयले जनाएको छ । वडा नम्बर १, २, ४, ५ र ६ का करिब तीन हजारको हाराहारीमा मान्छे विस्थापित भएको जनाइएको छ । उनीहरुको व्यवस्थापनका लागि गाउँपालिकाले सङ्घ र प्रदेश सरकारलाई गुहारेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.