कञ्चनपुरमा चितुवाको छालासहित दुईजना पक्राउ

धनगढी : कञ्चनपुरबाट प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ। जिल्लाको कृष्णपुर नगरपालिका–२, देखतभुलिबाट चितुवाको छालासहित दुई जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–३, काँडेकी ४० वर्षीय मालती मल्ल र वडा नम्बर २ जोसिनाका २९ वर्षीय मोहन सार्की रहेको कञ्चनपुर प्रहरीले जनाएको छ। चितुवाको छालासहित पक्राउ परेकालाई कञ्चनपुर प्रहरीले बिहीबार सार्वजनिक गरेको हो। बुधबार बेलुका निरञ्जन मल्लको खेतमा लुकाई राखेको अवस्थामा वयस्क चितुवाको दुई थान छाला बरामद भएको प्रहरी नायव उपरीक्षक चक्र शाहले बताए ।

पक्राउ परेकाहरु मल्लको पोल्ट्रि फार्ममा काम गर्ने बताइएको छ। बरामद भएको छालामध्ये एउटा ८ फिट ८ ईन्च लम्बाई र तीन फिट चौडाई तथा अर्को सात फिट २ ईन्च लम्बाई र दुई फिट आठ ईन्च चौडाई रहेको प्रहरी नायव उपरीक्षक चक्र शाहले बताए। बरामद भएको चितुवाको छाला र पक्राउ परेकालाई डिभिजन वन कार्यालय कञ्चनपुर बुझाउने प्रहरी नायव उपरीक्षक शाहले बताए।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय झलारी र आरआईटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। शाहले भने, ‘बरामद भएको छाला सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाबाट ल्याइएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.