काठमाडौं : राजनीतिक दलका नेताहरुको निर्वाचन तयारी सुरु भइसकेको छ । आफ्नो राजनीतिक जीवनमा कुनै पनि संसदीय निर्वाचन नहारेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि यसपटक निर्वाचन क्षेत्रबारे छलफलमा छन् । निकटस्थहरुले देउवालाई निर्वाचन क्षेत्र परिवर्तन गर्न सुझाएका छन् ।
प्रतिनिधिसभा निर्वाचन २०४८, २०५१, २०५६ र २०७४ तथा संविधानसभा निर्वाचन २०६४ र २०७० मा देउवा डडेल्धुराबाटै निर्वाचित भएका थिए । २०६४ मा कञ्चनपुर ४ र २०७० मा कैलाली ६ सहित डडेल्धुराबाट समेत देउवा निर्वाचित भएका थिए ।
यसपटक डडेल्धुराको राजनीतिक वातावरण र देउवाको मनस्थिति दुवै बदलिएको छ । देउवालाई निकटस्थसँगै ‘इन्टेलिजेन्स’ ले पनि डडेल्धुराबाट चुनाव नलड्न सुझाव दिएको बताइन्छ । गत स्थानीय निर्वाचनमा कांग्रेसले देउवाकै वडामा निर्वाचन हारेको थियो । जिल्लाभरको परिणाममा सत्तारुढ गठबन्धनको पकड देखिए पनि डडेल्धुराभन्दा बलियो क्षेत्र खोज्न देउवालाई निकटस्थहरुले सुझाएको बालुवाटार स्रोतको दाबी छ ।
प्रारम्भमा डडेल्धुरा छाड्नेबारे सुन्नै नचाहेका प्रधानमन्त्री देउवाले क्रमशः उपयुक्त विकल्पबारे चासो राख्न थालेका छन् । ‘राजनीतिक सन्देश गलत नजाने गरी के उपाय होला भनेर प्रधानमन्त्रीले पनि चासो राख्नुभएको छ । सुदूरपश्चिमकै केही क्षेत्रबारे कुरा भएको छ’, देउवा निकट स्रोतको दाबी छ ।
संसदीय निर्वाचनमा डडेल्धुरा छाड्ने विषयमा पूर्ण सहमत भइनसके पनि प्रधानमन्त्री देउवाले कञ्चनपुर ३ को सम्भावनाबारे पनि छलफल गरेका छन् । गत संसदीय निर्वाचनमा सुदूरपश्चिममा डडेल्धुरामात्रै कांग्रेसले प्रत्यक्षमा जितेको थियो । त्यसबाहेक सबैभन्दा कम मतान्तरले कांग्रेस पराजित भएको क्षेत्र कञ्चनपुर ३ हो । जहाँ कांग्रेसका रमेश लेखक एमालेका दीपकप्रकाश भट्टसँग २५८ मतान्तरले पराजित भएका थिए । वाम गठबन्धनका भट्टले २६ हजार ३६४ मत ल्याउँदा कांग्रेसका लेखकले २६ हजार १०६ मत पाएका थिए ।
डडेल्धुरामा कांग्रेसका निवर्तमान सभापति कर्ण मल्ललगायतले विद्रोह गरेका कारण संसदीय निर्वाचनमा देउवालाई असर पर्ने धेरैको आँकलन छ । मल्लले देउवाविरुद्ध आफ्नो उम्मेदवारी पर्ने बताइसकेका छन् । नेपाली कांग्रेस बीपीका तर्फबाट मल्ल उम्मेदवार भए एमालेले समर्थन जनाउने सम्भावना उत्तिकै छ । डडेल्धुराभन्दा सुरक्षित क्षेत्र कञ्चनपुर ३ लाई मानिएको छ । साविक कञ्चनपुर ४ को अधिकांश क्षेत्र समेटिएको सो क्षेत्रबाटै २०६४ को संविधानसभा निर्वाचनमा देउवा विजयी भएका थिए ।
नेपाली कांग्रेस कञ्चनपुरकै केही नेताहरु भने सभापति देउवा कञ्चनपुर ३ बाट चुनाव लड्नेबारे औपचारिक छलफल नभएको बताउँछन् । प्रधानमन्त्री पत्नीसमेत रहेकी कांग्रेस केन्द्रीय सदस्य आरजु राणाले पनि सोही क्षेत्रमा रुचि राखेको ‘हल्ला’ छ ।
कांग्रेस नेता रमेश लेखक पछिल्लो समय निरन्तर क्षेत्र केन्द्रित अभियानमा सक्रिय छन् । लेखक निकट नेताहरु पनि क्षेत्र छाड्नेबारे छलफल नभएको बताउँछन् । ‘रमेश दाइ क्षेत्रकै कार्यक्रममा व्यस्त हुनुहुन्छ । उहाँसँग सल्लाह नगरी हुने कुरा होइन । त्यसैले कञ्चनपुर ३ बारे चलाइएको हल्लामा सत्यता छैन’, लेखक निकट एक नेताले भने ।