काठमाण्डौँ : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल उद्योग वाणिज्य महासंघको भिजन पेपर २०३० सँग सरकारले सम्झौता गर्ने बताएका छन् ।
शुक्रबार २८ औं कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्ड एशोसिएशन (नेफा) ले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन् । उनले उद्योग वाणिज्य महासंघले निकालेको भिजन पेपर,२०३० ले औंल्याएका केही विषयमा सरकारले आगामी हप्ता सम्झौता गर्ने तयारीमा रहेको बताए । मन्त्री बडूले नेपालको लजिष्टिक नीति अन्तिम चरणमा पुगेको बताए ।
उनले सरकारले अन्तराष्ट्रिय व्यापार सहजीकरणको लागि नीतिगत क्षेत्रमा समेत निरन्तर काम गरिरहेको बताए । मन्त्री बडूले मल्टिमोडल ट्रान्सफर याक्टको समयसापेक्ष संशोधन तथा नियमावली तत्काल जारी गर्ने प्रतिवद्धता जनाए । त्यस्तै, कार्यक्रममा उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले सरकारले छिटै लजिष्टिक नीति कार्यान्वयनमा ल्याउने चरणमा पुगेको बताए । उनले मन्त्रालयले व्यापार सहजीकरणका लागि अन्य पूर्वाधार निर्माणको काम पनि गरिरहेको बताए ।
सचिव पोखरेलले चालु आर्थिक वर्षमा उत्पादन बढाएर निर्यात गर्नको लागि सरकारले प्रधानमन्त्री नेपाली उत्पादन अभिवृद्धि र फार्म टु फ्याक्ट्री कार्यक्रम ल्याएकाले कार्गो व्यवसायीहरुलाई प्रत्यक्ष फाइदा पुग्ने बताए । सचिव पोखरेलले सरकारले व्यापार सहजीकरण गर्न निर्माण गरेका पूर्वाधारका विषयमा सरकार समीक्षा गर्न तयार रहेको भन्दै तयार भएका पूर्वाधारको पूर्ण प्रयोग गर्न व्यवसायीलाई आग्रह गरे ।