बाटोमै बच्चा जन्माउन विवश दुर्गमका महिला

अत्तरिया, १४ साउन : बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटकी ३५ वर्षीया कार्तिका विकले केही दिन अगाडि बाटोमै बच्चा जन्माइन्। वडा नम्बर १ मुक्तिकोटमा एउटा पनि बर्थिङ्ग सेन्टर छैन। त्यसैले सुत्केरी व्यथा लाग्ने बित्तिकै आफन्तले गाउँबाट एक घण्टा दूरीमा पर्ने स्वामिकार्तिक खापर गाउँपालिका–२ को माझगाउँ स्वास्थ्य इकाइ केन्द्रमा पुर्याएका थिए।

त्यहाँ स्वास्थ्यकर्मी नहुँदा आफन्तले उनलाई फिर्ता ल्याए। घरमा ल्याउँदै गर्दा ताहाडा खोला नजिकै बाटोमा छोरालाई जन्म दिइन्, कार्तिकाले। स्वास्थ्यचौकीमा कार्यरत अनमी, अहेव कसैको पनि करार म्याद थप नभएपछि स्वास्थ्य चौकी खाली भएको हो। यस्तै, गत फागुनमा हिमाली गाउँपालिका–२ नातिखोलाकी २३ वर्षीया पार्वती बुढाले पनि वडा नम्बर १ मा रहेको बर्थिङ सेन्टरमा जाँदै गर्दा बाटोमै बच्चा जन्माएकी थिइन्।

कार्तिका र पार्वती त प्रतिनिधिमूलक पात्र मात्रै हुन, सुदूरपश्चिमका पहाडी जिल्लाका दुर्गम बस्तीका महिला अझै पनि घरमै प्रसूति गराउन बाध्य छन्।भौगोलिक विकटताले दुर्गमका महिला सुत्केरी व्यथा लागे पछि बर्थिङ्ग सेन्टर आउँदै गर्दा बाटोमै बच्चा जन्माउनु पर्ने बाध्यता झेलिरहेका छन्। भौगोलिक विकटता, जनशक्ति अभाव, गाउँमै स्वास्थ्य सेवा नहुनु लगायत विभिन्न कारणले महिलाहरुले सुरक्षित प्रसुती सेवाबाट बञ्चित हुनु परेको छ।

अझै पनि अधिकांश महिला घरमै सुत्केरी हुने गरेको बझाङको साइपाल गाउँपालिकाकी उपाध्यक्ष डोल्मा तामाङ बताउँछिन्। ‘साइपालबाट सदरमुकाम पुग्न ३ दिन लाग्छ, बाटोघाटो पुल पुलेसा छैनन्, महिलाहरुलाई प्रसुतीको लागि स्वास्थ्य संस्था आउनै सकस छ,’ उनले भनिन्, ‘त्यसैले अधिकांश घरमै प्रसुती हुने गरेका छन्, जटिल अवस्था आए हेलिकप्टरमार्फत उद्धार गर्ने गरेका छौँ।’

भौगोलिक विकटताले साइपालका स्थानीयले सहज स्वास्थ्य सुविधा पाउन नसकेको उनको भनाइ छ। गाउँका स्वास्थ्य चौकीमा चिकित्सक र औषधिको अभावले सामान्य उपचार पनि हुन सक्दैन। भौगोलिक विकटता तथा स्वास्थ्य सेवाको पहुँच नहुँदा महिलाहरुले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता रहेको उनी बताउँछिन्। अधिकांश महिलाहरूमा पाठेघरसम्बन्धी समस्या भए पनि लुकाउने गरेको उपाध्यक्ष तामाङको भनाई छ।

स्वास्थ्य चौकी भएका ठाउँमा पनि स्वास्थ्य चौकी गाउँभन्दा धेरै टाढा हुँदा त्यसतर्फ जाने क्रममै कतिपयले बाटोमै बच्चा जन्माउने गरेको बाजुराको हिमाली गाउँपालिका–१ का स्थानीय राजकमली कार्कीले बताइन्। बाटोमा बच्चा जन्माउने मात्र नभई स्वास्थ्यचौकी ल्याउन पनि निकै समस्या हुने गरेको हिमाली गाउँपालिकाकै स्थानीय जगत लामाले गुनासो गरे। वडा नम्बर ३ गुम्बा र लाम्पाटा गाउँका महिलाले कहिले स्वास्थ्यचौकीमा बच्चा नजन्माएको उनको भनाइ छ।

प्रत्येक वडामा बर्थिङ्ग सेन्टर भए पनि महिलाहरु बर्थिङ्ग सेन्टर भन्दा घरमै प्रसुती हुने गरेको बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशी बताउँछिन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.