बाढी पहिरोग्रस्त क्षेत्र दार्चुलामा ढुङगा बोक्दै उद्योगमन्त्री बडू

दार्चुला : दार्चुलाको बाढी पहिरो प्रभावित क्षेत्रमा राजनीतिक दलका नेताहरुको सक्रियता बाक्लिएको छ। शुक्रबार रातीको अविरल वर्षा पछि आएको बाढी पहिरोले दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो मानविय र भौतिक क्षति गरेको छ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको टोली नेपाली सेनाको हेलिकप्टरमा राहत बोकेर शनिबार बेलुका नै बाढी पहिरोग्रस्त क्षेत्र पुगेको छ।

उनीहरुले बाढीपहिरोमा ज्यान गुमाएका मानिसको परिवारलाई भेटेर सान्त्वना दिइरहेका छन्। आइतबार भने मन्त्रीको टोली महाकाली नगरपालिका–४ बाङ्गाबगरमा लास्कु खोलाले कटान गरिरहेको क्षेत्रमा पुगे। सो क्षेत्रको उनीहरुले निरीक्षण मात्रै गरेनन्, तटबन्धन निर्माण गरिरहेका स्थानीय, सुरक्षाकर्मीलाई सघाए।

संघीय सरकारका उद्योगमन्त्री बडू, सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीसहितको टोलीले तटबन्धनका लागि ढुङगा बोकेका छन्। दार्चुला उनीहरुको गृहजिल्ला समेत हो। प्रदेशसभा सदस्य गेल्बुसिंह बोहरा, महाकाली नगरपालिकाका मेयर नरसिंह चैसिर, उपमेयर दुर्गा बिष्ट, नेकपा (एमाले) दार्चुलाका उपाध्यक्ष चरनसिंह बुढाथोकी, सचिव शेरसिंह धामी लगायत नेताहरु बाढीग्रस्त क्षेत्रमा जुटेका छन्।

दार्चुलाका सांसद गणेश सिंह ठगुन्ना पनि आइतबार संघीय राजधानीबाट गृहजिल्ला आउँदैछन्। नदीको कटान रोक्न तटबन्धन गरेर पानीको बहाब फर्काउने प्रयास गरिएको महाकाली नगरपालिकाका मेयर चैसिरले बताए। ‘नदीले कटान गरिरहेको छ, खोलको मुखैमा ८र१० घर जोखिममा छन्,’ उनले भने, ‘कटान रोक्न अहिले ८र१० वडा जाली राखेका छौँ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.