यस बर्ष सुपथ पसलमा चिनी छैन

अत्तरिया : दशैं तिहारमा सवै भन्दा बढी माग हुने गरेको चिनी दुई बर्षदेखि सुपथ मुल्य पसलमा बिक्री हुन छोडेको छ । ग्राहकले सबै भन्दा बढी चिनी खोज्ने भए पनि सरकारले उपलब्ध नगराएको भन्दै साल्ट ट्रेडिङ कर्पोेरेसन लिमिटेडले भने गत बर्ष देखि नै चिनी बिक्रि गर्न छोडेको हो ।

‘चिनी भारतबाट ल्याउनु पर्ने भए पनि सरकारले अनुमति दिएको छैन’ साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड धनगढीका सूचना अधिकारी रामचन्द्र जोशीले भने, ‘नेपाली चिनी खरिद गरेर सहुलियतमा दिन सकिने अवस्था छैन, त्यसैले गत बर्षदेखि नै चिनी बिक्री गर्न नसकिएको हो ।’

सरकारले चिनी आयातमा कर लगाएपछि अर्थ मन्त्रालयले भारतबाट चिनी खरिदको अनुमति नदिएको उनले बताए । ग्राहक भने चिनिकै लागि सुपथ मुल्यमा पुग्ने गरेका छन् । ‘चिनी सस्तो पाउँछ भनेर सुपथ मुल्य सपलमा आएकी हुँ,’ धनगढी–५ हसनपुरकी सीता भट्टले भनिन्, ‘तर यहाँ चिनी रहेन छ, खालि हात फर्कनु प¥यो ।’

चाडवाडमा साल्ट टे«डिङले चिनी उपलब्ध नगराएपछि भारतको बनगाउँ बजार जाने सोच बनाएको उनले बताइन् । ‘चाडवाडमा धेरै चिनी चाहिन्छ,’ उनले भनिन्, ‘बनगाउँबाट ल्याउँदा नेपाल भन्दा २० रुपैंया सस्तो पर्ने भएका कारण धेरै चिनी चाहिदा त्यतै जाने गरेका छौं ।’ बनगाउँ जान बाटोको समस्या हुने गरेका कारण साल्ट ट्रेडिङबाट चिनि किन्ने योजना बनाएको उनले बताइन् ।

तर साल्ट ट्रेडिङले चिनी नदिएको र धनगढी बजारमा धेरै महंगो भएका कारण भारतको बनगाउँ जानु परेको उनले बताइन् । धनगढी बजारमा चिनीको मुल्य ९० रुपैंया प्रति किलो बिक्री भइरहेको छ । बनगाउँमा भने ६८ रुपैयाँमै चिनी पाइने गरेको छ । सुपथ मुल्य पसलमा चिनी सस्तोमा पाइदा बजारमा पनि मुल्य केही घट््ने गरेको थियो । साल्ट टे«डिङ कर्पोरेसन लिमिटेडले धनगढी र गोदावरीमा सुपथ मुल्य पसल सञ्चालन गरिरहेको छ । सो पसलबाट नून, चिउरा, खाने तेलमा छुट दिने गरेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका सूचना अधिकारी रामचन्द्र जोशीका अनुसार नूनमा दुई रुपैंया छुट दिएर प्रति किलो १८ रुपैयाँमा बिक्री भइरहेको छ । एक जनालाई एक दिनमा बढीमा ६ किलो नून दिने गरिएको छ । यसैगरी चिउरामा प्रतिकिलो ७ रुपैया छुट दिएर ८८ रुपैयाँमा बिक्री गर्ने गरिएको छ भने स्वस्तिक तोरीको तेलमा प्रति लिटर ७ रुपैया छुट दिएर तीन सय ५ रुपैंयामा बिक्री गर्ने गरिएको सूचना अधिकारी जोशीले बताए । जोशीका अनुसार एक दिनमा एक जनालाई चिउरा ४ किलो र खानेतेल ४ लिटर सम्म दिइने गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.