समृद्ध सुदूरपश्चिम अभियानको घोषणा

अत्तरिया, ८ असोज : ‘सुदूरपश्चिममै उब्जाउने, सुदूपश्चिमकै खाने, सुदूरपश्चिमकै लगाउने र समृद्ध सुदूरपश्चिम बनाई मर्ने’ नाराका साथ समृद्ध सुदूरपश्चिम अभियान घोषणा गरिएको छ । समृद्ध सुदूरपश्चिम अभियानको आयोजनामा शनिबार कैलालीको गोदावरी नगरपालिका – ४ खैरानामा पत्रकार सम्मेलनको आयोजना गरी अभियानको घोषणा गरिएको हो ।
अभियन्ता बिनोद मल्लले यस क्षेत्रमै बसेर प्रदेशलाई कसरी समृद्ध बनाउन सकिन्छ भनेर अभियान संचालन गरिएको बताए । उनले अहिलेको पुस्तामा यसै क्षेत्रमा बसेर यस क्षेत्रका सम्भावना खोतलेर काम गर्ने भन्दा पनि विदेश जाने पैसा कमाउने सोच बढ्दै गएकाले अभियानको आवश्यकता महशुस गरिएका बताए । आउने पुस्तालाई सुदूरपश्चिमको समृद्धि अभियानमा जोड्न यस क्षेत्रमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुका सपना उजागर गर्न तथ्याङ्क संकलन गरिने उनले बताए ।
उनले अबको २० बर्ष पछि यो उमेर समुहको विद्यार्थीले नै यस क्षेत्रलाई हाक्ने भएकाले उनीहरुलाई अहिले देखि यो अभियानमा समेट्न लागेको बताए । उनले विद्यार्थीलाई प्रश्न सोध्नको लागि मोबाइल एप र कागजको प्रयोग गरिने बताए । जसका लागि प्रत्येक पालिका स्तरमा एक जना व्यक्ति तोकिने उनले बताए ।
‘यसको लागि डेढ लाख जती खर्च आउने अनुमान गरेका छौ । जुन खर्च अभियानमा जोडिएकाहरुबाट नै संकलन हुने छ’ उनले भने ‘मंसिर र पुस महिनामा यो प्रश्नपत्र लगेर विद्यार्थीमा जाने छौ । अहिले नमूना प्रश्न तयार गर्ने र यि प्रश्न सर्बेक्षण गर्ने काम गरिरहेका छौ ।’
अभियानमा आवद्ध युवा व्यवसायी तथा सामाजसेवी दिनेश भण्डारीले तथ्याङ्क लिएपछि त्यसलाई एउटा दस्ताबेज बनाएर राजनीतिक दलको घोषणा पत्रमा राख्न लगाउने, सम्बन्धित निकायमा कार्यान्वयन गर्न पहल गरिने बताए ।
‘यो दस्तावेजलाई सबैको कमन दस्ताबेज बनाउन सकिन्छ । यसलाई कार्यन्वय गर्ने निकाय राज्यलाई बनाउन हामीले घचघच्याउने छौ’ उनले भने ‘यसमा कसैलाई पनि नेतृत्व तोकिएको छैन । यो काम टिममा हुन्छ ।’ उनले सुदूरपश्चिममा थुप्रै सम्भावना रहेका भएपनि त्यसको सदुपयोग नहुँदा आफूहरु पछाडी परेको बताए ।
अभियन्ता हिमालय बिष्टले यस क्षेत्रमा धेरै मौलिक बस्तु उत्पादन गरिने भएपनि ति हराउँदै गएको बताए । उनले यस क्षेत्रमा भएको सिपलाई प्रयोग गरी यस क्षेत्रमै पाईने बस्तु प्रयोग गरेर प्रदेशको विकास गर्न सकिने बताए । ‘८० हजार विद्यार्थीले देखेका सपना फरक–फरक हुन सक्छन’ उनले भने ‘दार्चुलाका विद्यार्थीको एक किसिमको सपना होला । धनगढीमा बस्ने विद्यार्थीको एक किसिमको सपना होला । हामीले ति सबैका सपना यस क्षेत्रको अर्गानिक स्रोत साधन प्रयोग गरेर पुरा गर्न अभियानले सहयोग गर्छ ।’
समृद्ध सुदूरपश्चिम अभियानको आयोजनामा हुने समृद्ध सुदूरपश्चिम अभियान स्वस्फुर्त रुपमा संचालन हुने जनाइएको छ । जसमा कसैले पनि नेतृत्व नगर्ने र टिममा काम हुने छ । अभियान संचालनका क्रममा सूचना आदानप्रदान गर्नका लागि भने ५ जना तोकिने जनाइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.