कञ्चनपुर सीमा नाकाबाट दुई जना युवतीको उद्धार

कञ्चनपुर : कञ्चनपुरको बेलौरी स्थित भारतीय सीमा नाकाबाट दुई जना युवतीको उद्धार गरिएको छ। कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ५ धरमपुरकी १७ वर्षीया किशोरी र २० वर्षीया युवतीलाई शनिबार दिउँसो बेलौरी खजुरीया सीमा नाका भएर भारत जान लागेको अवस्थामा उद्धार गरिएको शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीले जनाएको छ।

शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालयका परामर्शदाता नितु बिष्टले भारत जान लागेका एकैघरका दिदीबहिनीलाई शङ्का लागी सोधपुछ गरिएको बताइन् ।उनले भनिन्, लेखपढ गर्न नजान्ने, घरपरिवार कसैको पनि सम्पर्क टेलिफोन नम्बर थाहा नभएको, कहाँ जान लागेको भन्ने पनि जानकारी नभएको र अपरिचित व्यक्तिले भारतमा रोजगारीका लागि प्रेरित गरेकोले आफूहरू बेलौरी नाकाबाट भारत जान लागेको खुल्न आएपछि बेचबिखनको जोखिममा पर्न सक्ने भन्दै उनीहरुको उद्धार गरिएको हो।
उद्धारमा शान्ति पुनर्स्थापना गृहसँगै सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, भारतीय सीमा सुरक्षा बल र स्थानीय जनप्रतिनिधिले उद्धार गरेका थिए । उद्धारपछि दुवै जनालाई शनिबार बेलौरी स्थित अल्पकालीन सुरक्षित आवास गृहमा राखिएको र आइतबार बिहान उनीहरुका बुवालाई बोलाई जिम्मा लगाइएको शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.