Agni Offset Press

प्रदेश सरकारको बजेट : खानेपानीका तीन आयोजनालाई एक करोड ८५ लाख

Aarati simant

शारादा फुलारा
अत्तरिया : खानेपानीको चरम समस्या भोगिरहेका कैलालीको गोदावरी नगरपालिकाका विभिन्न वडामा निर्माणाधिन तीन वटा खानेपानी आयोजनाको पूर्णताका लागि सुदूरपश्चिम प्रदेश सरकारले यस वर्ष एक करोड ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
यी आयोजना निर्माण पूरा भए दर्जनौँ परिवारमा शुद्ध खानेपानीको सुविधा पुग्नेछ । विकासका पूर्वाधार र भौगोलिक रुपमा विकट गोदावरी नगरपालिका–४, बन्देगडा खानेपानी योजनाका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा २५ लाख रुपैँया बजेट छुट्याएको छ ।
२०७५ सालबाट सुरु भएको यो योजनाबाट स्थानीय छ सय घरधुरी लाभान्वित हुने छन् । चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु भएको यो खानेपानी आयोजनाको काम अपेक्षित रुपमा अगाडि बढेको छैन । बन्देगडामा खानेपानी र सिचाँइ सुविधाको अभाव छ । बन्देगडामा एउटा गैरसरकारी संस्थाले गाउँमा १५–२० परिवारलाई पुग्ने गरी खोलाबाट गाँउमा खानेपानी पु¥याइदिएको छ । पाइपको माध्यमबाट पु¥याइएको पानीले स्थानीयलाई केही राहत त भएको छ तर पानी पर्दा धमिलो पानी आउने भएकाले समस्या रहेको स्थानीय बताउँछन् ।
वर्षायाममा धमीलो आउने हुँदा खानयोग्य समेत नहुने स्थानीयले बताएका छन् । प्रदेश सरकारअन्तर्गतको उक्त योजनाले पूर्णता पाएमा सफा र स्वच्छ पानी पिउन पाउने आशामा त्यहाँका स्थानीय छन् । चुरेसँग जोडिएको यो क्षेत्रमा खानेपानीको चरम समस्या रहेको छ । स्थानीयबासिन्दा खोलाको पानी पिउन बाध्य छन् ।
प्रदेश सरकारकै लगानीमा गोदावरी–८, बिजोरामा निर्माणाधीन बिजोरा–बडेहा खानेपानी आयोजनाका लागि प्रदेश सरकारले यस वर्ष ४० लाख बजेट विनियोजन गरेको छ । चार वर्षअघि सुरु भएको यो आयोजनाको काम अहिले अन्तिम चरणमा पुगेको छ । बिजोरा–बडेहा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सहसचिव रोशन भट्टले आयोजनाको काम अन्तिम चरणमा पुगेको र अहिले घरघरमा धारा जडानको काम भइरहेको जानकारी दिए । करिब १२ करोड रुपैयाँको लागतमा निर्माणाधीन यो आयोजनाबाट गोदावरी नगरपालिका वडा नम्बर १, ५ र ६ का गरी करिब दुई हजार दुई सय सय घरधुरी लाभान्वित हुने सहसचिव भट्टले बताए ।
स्याउले खानेपानीको काम सुस्त
नल्कामा आउने पहँेलो पानी पिउदै आएका गोदावरी नगरपालिका–८, स्याउलेका स्थानीय छ वर्षअघि गाउँमा खानेपानी आयोजना निर्माणको प्रकृया अगाडि बढेपछि खुसी थिए । आयोजना बनेपछि स्वच्छ र शुद्ध पानी पिउने स्याउलेबासीको सपना भने अझै अधुरो छ । निर्माण समितिले तदारुकता नदेखाउँदा आयोजना कहिले सम्पन्न हुन्छ भन्ने अझै अन्यौल छ । आयोजनाको कामले पनि गति लिन सकेको छैन ।
यो खानेपानी आयोजनका लागि प्रदेश सरकारले हरेक वर्ष पर्याप्त बजेट पनि छुट्याउँदै आएको छ । तर योजना सम्पन्न गर्ने जिम्मेवारी लिएको समितिले काममा ढिलासुस्ती गर्दा हरेक वर्ष योजनाको ठूलो बजेट खर्च हुन नसकेर फिर्ता हुने गरेको छ । यो आयोजनाका लागि सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि मात्रै एक करोड २० लाख रुँपैया बजेट छुट्याएको छ । तर उपभोक्ता समितिलाई नै बजेटबारे अहिलेसम्म जानकारी छैन । समितिका अध्यक्ष शेरबहादुर अधिकारीले यस वर्ष आएको बजेटबारे आफूलाई जानकारी नभएको बताएका छन् । आवश्यकताअनुसार प्रदेश सरकारबाट बजेट विनियोजन गराउन दौडधुपसमेत गर्नुपर्ने अध्यक्षलाई बजेट छुट्याइएको तीन महिनासम्म जानकारीसमेत नहुनुले खानेपानी आयोजना निर्माणमा भइरहेको लापरबाही देखाउँछ ।
जनश्रमदानसहित छ करोड ५० लाख ६९ हजार रुपैयाँ लागतमा रहने आयोजना आर्थिक वर्ष २०७९÷८० मा सम्पन्न गर्ने लक्ष्यसहित आर्थिक वर्ष २०७३÷०७४ मा काम सुरु भएको थियो । २०७५ सालमा यो आयोजना प्रदेश सरकार मातहत आएको थियो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीका प्रमुख हंसबहादुर थापाले स्याउले खानेपानी आयोजना यही वर्ष पूरा गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको बताए । योजनाको करिब ५५ प्रतिशत भौतिक प्रगति पूरा भएको उनले बताए । प्रमुख थापाले समितिको लापरवाहीका कारण खानेपानी डिभिजनले समेत अपजस खेप्नुपर्ने अवस्था आएको बताए ।
‘आवश्यक बजेट दिए पनि समिति सक्रिय नहुँदा काममा ढिलाइ भएको हो । समिति र उपभोक्ता सक्रिय भए यसै वर्ष काम पूरा गर्न सकिने संभावना पनि छ ।’ उनले भने, ‘यस वर्ष अहिलेसम्म पनि समितिले काममा बेवास्ता गरेको छ ।’ ठेक्काको आधारमा जनशत्तिको व्यवस्था गरिदिन्छौँ भन्दा समेत निर्माण समितिले चाँसो नदेखाएको खानेपानी डिभिजनको दावी छ । आफ्नो जिम्मेवारीमा परेको योजना नौ महिनादेखि अलपत्रजस्तै बन्दा दुख लागेको उनले बताए । ट्याङ्की निर्माण, घेरवार, कार्यालय भवन निर्माण, पम्प हाउस, बोरिङलगायतको काम सकिसकेको डिभिजन प्रमुख थापाले बताए । योजनाको काम विगत नौ महिनादेखि ठप्प छ भने छ महिनादेखि समितिको बैठकसमेत बस्न सकेको छैन । १९ किलोमिटर क्षेत्रमा पाइप बिछ्याउन बाँकी छ । ‘अझै पनि समिति र स्थानीय सक्रिय भएमा आउँदो जेठमा धारामा पानी झार्न सकिन्छ ।’ उनले भने ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले १२ किलोमिटरसम्म बिछ्याउन पुग्ने पाइप गत आर्थिक वर्षमा नै किनेर ििसमतलाई हस्तान्तरण गरेको थियो । उक्त पाइप खानेपानी आयोजनाको कार्यालयमा थन्किएको छ । अध्यक्ष अधिकारी भने पाइप बिछ्याउने क्षेत्रमा कहिले खेती लगाइएको, कहिले बीउ राखिएको, कहिले चुनाव त कहिले बर्खाले काम गर्न नसकिएको बताँउदै आएका छन् । गोदावरी–८, का अध्यक्ष गोविन्द चौधरीले योजनाका अध्यक्ष अधिकारीलाई आफूले काम अगाडि भनेको बताए । ‘काम अगाडि बढाउनु भनेर मैले पनि धेरै पटक भनिसकेको छु । काम सुरु नभए यस वर्ष पनि बजेट फ्रिज जाने संभावना छ ।’ उनले भने, ‘मैले समितिलाई काम गर्न पटक–पटक भनिसकेँ तर उहाँहरुले चाँसो देखाउनु भएको छैन ।’ खानेपानीको सुविधा नहुँदा स्याउलेका स्थानीय नल्काको पिउन योग्य समेत नभएको पानी पिउन बाध्य छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.