दार्चुला : दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु र तिंकरको मतदान सदरमुकाम खलंगामै हुने भएको छ । व्यासमा अहिले चिसो बढेका कारण अधिकांश मतदाता खलंगा झरिसकेकाले छाङरु र तिंकर दुवै गाउँवासीले जिल्ला सदरमुकाम खलंगाबाटै मतदान गर्ने गरी तयारी भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिएका छन् ।
वडा कार्यालयको सिफारिसका आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगबाट अनुमति मागेर खलंगामै मतदान गर्ने व्यवस्था गरिएको छ । सर्वदलीय सहमति र वडाको सिफारिसका आधारमा दुवै गाउँको मतदान केन्द्र खलंगामै कायम गरिएको दार्चुलाका मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले जानकारी दिए ।
छाङरुको मतदान केन्द्रमा तीन सय ८३ र तिंकरको केन्द्रमा दुई सय ३४ जना मतदाताले आइतबार प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा मताधिकार प्रयोग गर्ने छन । तिंकरका मतदाताले सदरमुकाम खलंगाको बंगाबगरमा रहेको मोती महिला संघ आधारभूत विद्यालयमा मतदान गर्ने बताइएको छ भने छाङरुका मतदाताले कैलासपति आधारभूत विद्यालयमा मतदान गर्ने प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।
गएको बैशाख ३० गते भएको पालिका तहको चुनावमा यो क्षेत्रमा नेपाली भूमिबाट छाङरू र तिंकर जान बाटो नभएका कारण हेलिकोप्टरमार्फत चुनाव सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीहरु लगिएको थियो । दार्चुलाका एक सय ४३ मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी परिचालन समेत गरिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मीहरु चुनाव सामग्री बुझेर मतदान केन्द्रहरुमा पुगेर तयारी गरिरहेका छन् ।
सम्बन्धित पाेस्टहरु