अत्तरिया : सुदूरपश्चिम प्रदेशमा पहिलोपटक केवलकार बन्ने भएको छ । कैलाली जिल्लाको लम्किचुहा नगरपालिका र मोहन्याल गाउँपालिकामा जालपादेवी केवलकार आयोजना बन्ने भएको हो ।
कम्पनीले केवलकार आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको काम पूरा गरी प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरेको छ । उक्त प्रतिवेदनअनुसार कम्पनीले कैलाली जिल्लाको लम्किचुहा नगरापलिका वडा नम्बर ३, चिसापानीमा तल्लो स्टेशन र मोहन्याल गाउँपालिका वडा नम्बर ७ राजकाँडामा माथिल्लो स्टेशन रहने गरी जालपादेवी केवलकार आयोजना प्रस्ताव गरेको छ ।
कम्पनीले सो आयोजनाअन्तर्गत केवलकारको दुईवटा स्टेशनसँगै होटल तथा रिसोर्टसहित निर्माण गर्ने जनाएको छ । कम्पनीले आयोजनाले माथिल्लो स्टेशनमा १ सय कोठाको भुइतल्लासहित ५ तल्ले र तल्लो स्टेशनमा ५० कोठाको भुई तल्लासहित ४ तल्ले सुविधा सम्पन्न होटल निर्माण गर्नेछ ।
माथिल्ला र तल्लो स्टेशनहरूमा निर्माण तथा सञ्चालन गरिने होटलहरूको निर्माण क्षेत्र क्रमशः ६३४८ वर्गमिटर र ४१२५ वर्गमिटर रहने छन् । कम्पनीका अनुसार सो क्षेत्रमा ३.१ किलोमिटर लामो केवलकारको तल्लो स्टेशन लम्किचुहा नगरपालिका वडा नम्बर ३ चिसापनाीमा र माथिल्लो स्टेशन मोहन्याल गाउँपालिका वडा नम्बर ७ राजकाँडामा रहनेछ ।
सो क्षेत्रमा मोनो केबल डाटाचेवल ग्रिप टाइप कन्टिनिउसली सर्कुलेशन गोन्डोला प्रकारका केवलकार सञ्चालन हुने जनाएको छ । कम्पनीले केवलकार आयोजनाको टर्मिनल बीचको स्तर भिन्नता करिब ८०६.८४ मिटरको हुने उल्लेख गरेको छ । त्यस्तै, कम्पनीले बक्सको संख्या ३४ र प्रति बक्सको क्षमता ८ रहेको छ । साथै, केबलकारको क्षमता प्रतिदिन ६ हजार रहेको छ ।
यस आयोजनाको निर्माण अवधि करिब ३ वर्ष अनुमान गरिएको छ । कम्पनीले सो केवलकार आयोजना निर्माणका लागि २ अर्ब ६४ करोड २२ लाख २४ हजार रुपैयाँ लागतमा निर्माण गर्ने अनुमान गरेको छ । कम्पनीले माथिल्लो स्टेशनमा रहेको होटल, स्टेशन र कन्फरेन्स हल गरी ९५ करोड १० लाख ८० हजार खर्च हुने उल्लेख छ । जसमा होटलका लागि ७४ करो ७१ लाख ५९ हजार, स्टेशनका लागि १५ करोड २८ लाख ८१ हजार कन्फरेन्स हलका लागि ५ करोड १० लाख ३९ हजार लागत अनुमान गरेको छ ।
त्यसैगरी, तल्लो स्टेशनमा पनि होटलका लागि ४४ करोड २४ लाख ४५ हजार रुपैयाँ, स्टेशनमा १५ करोड ७३ लाख ३२ हजार रुपैयाँ र कन्फरेन्स हलमा ४ करोड ६३ लाख ८४ हजार रुपैयाँ गरी ६४ करोड ६१ लाख ६२ हजार लागतको अनुमान गरेको छ ।
सम्बन्धित पाेस्टहरु