
अत्तरिया : सुदूरपश्चिममा मनाईने भुवा पर्वको उल्लास सुरु भएको छ । कैलाली लगायत सुदूरपश्चिमका कञ्चनपुर, बाजुरा, अछाम, बझाङ, डोटी लगायतका जिल्लामा भुवा पर्व मनाईन्छ । कैलालीको धनगढीमा शुक्रबार देखि भुवा पर्व सुरुवात भएको छ । धनगढीको खुला मञ्चमा एक कार्यक्रममा सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख जोशीले भुवा पर्वले आपसी भातृत्वको भावना जगाएको बताए । उनले संस्कृतिलाई जर्गेना गर्नका लागि तीन तहको सरकारको भूमिका रहने बताए । संस्कृतिलाई पुस्तारन्तरण गर्न आवश्यक रहेको उनको भनाई रहेको थियो । उनले संस्कृति, चाडपर्व र रीतिरिवाज संरक्षण गर्दै अगाडि बढ्न आवश्यक रहेको बताए । उनले संस्कृति, चाडपर्वको जगेर्ना गर्न आवश्यक रहेको बताए ।
संस्कृति पहिचान रहेको प्रदेश प्रमुख जोशीको भनाइ थियो । ‘यदि हाम्रो धर्म संस्कृति नै छैन भने हामी मानव हुनुको औचित्व छैन, उनले भने,‘त्यसकारण यसको जगेर्ना गरेर अगाडि बढ्न आवश्यक छ ।’ हिन्दू धर्मावलम्बीले संस्कृतिमाथि अगाढ विश्वास गर्दै आएको प्रदेश प्रमुखको भनाइ थियो ।
बाजुरेली सेवा समाजले भुवा पर्वको आयोजना गरेर सबैलाई भेटघाट गर्ने अवसर जुटाउनुका साथै पर्वको संरक्षण गरेर भुवा पर्वको ज्ञान युवा पुस्तालाई दिने कार्य गरिरहेको उनले बताए । ‘भुवा पर्व आयोजना गर्नुको उद्देश्य अत्यन्त सह्रानीय र प्रशंसनीय छ,’ उनले भने, ‘यसलाई आगामी दिनमा पनि निरन्तरता दिइ रहनुपर्दछ ।’
चाडपर्वको ठूलो महत्व रहेको उल्लेख गर्दै प्रदेश प्रमुख जोशीले यसले एक आपसमा सौहार्दता र हार्दिकता बढाइदिने काम गरेको बताए । द्वापर युगमा कौरव–पाण्डवले युद्धमा तरवार र ढाल प्रयोग गरेको उल्लेख गर्नुहुँदै प्रदेश प्रमुखले पछि नेपालमा बाइसे–चौबिसे राज्यका राजा रजौटाले सैनिकलाई प्रशिक्षण दिनका लागि ढाल र तरवार प्रयोग गरेको बताए । त्यसैले ढाल र तरवार हाम्रो समाजको सुरक्षा व्यवस्थाको निम्ति आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा प्रदेश प्रमुख जोशीले भुवा पर्वको अवसरमा प्रदेश सरकारले सकेसम्म प्रदेशभर नै बिदा दिइनु पर्ने बताए । पहिले प्रदेशभर बिदा दिइएकोमा अहिले पहाडका चार जिल्लामामात्रै प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय चित्त बुझ्दो नरहेको उनको भनाइ थियो ।
‘नयाँ सरकार गठन भएपछि बिदाका लागि यहाँहरु पनि घचघच्याउनुस, मेरो तर्फबाट म पनि लाग्छु,’ उनले भने । यसैगरी, पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले पनि भुवा पर्वको अवसरमा सरकारले प्रदेशभर नै बिदा दिनु पर्नेमा जोड दिए । भुवा पर्व प्रत्येक वर्ष पुसे औँसीको अघिल्लो दिनदेखि सुरू हुन्छ ।
पछिल्लो समय सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा पनि यो पर्व मनाउन थालिएको छ । द्वापरयुगमा पाण्डव र कौरवबीचको लडाइँ सकिएपछि पाण्डवको विजयसँगै खुसियाली मनाएको दिनलाई स्मरण गर्दै विभिन्न स्थानमा भुवो खेल्ने गरिन्छ ।
खप्तडछान्ना गाउँपालिका–५ का माधवप्रसाद जोशीका अनुसार सिन्धुघाँटीको सम्भतादेखि प्राचिन नेपाली समुदायमा भुवो पर्व मनाइँदै आएको छ । सुदूरपश्चिममा जुम्ला सभ्यता छिटो फैलँदै आएका जिल्लामा भुवा पर्व मनाउने गरेको उनले बताए । पर्वमा महाभारतका पाण्डव र कौरवको युद्धका बेला पाण्डवको सङ्घर्ष, जङ्गलमा बास बसेको समय, विकासमा खेलेको भूमिकालाई लिएर भुवाका माणा (गीत) गाउने चलन रहेको छ ।
वनबास बस्दा पाण्डवका भाइहरू पुगेको ठाउँमा छोडेको चिनारी भएको आसपासमा यो पर्व बढी मनाउने गरेको उनले बताए । ‘बढीजसो पाण्डव पुगेको ठाउँमा कतै ढुङ्गा बोकेको, कतै खनेको, केही आकृतिका ढुङ्गा गाडेकोजस्ता चिनारी छोडेको ठाउँमा यो पर्व बढी मनाउँछन् ।’ उनले भने । पछिल्लो समय पहिचान जोगाउनका लागि पनि धेरै समुदायले भुवा पर्व मनाउने गरेका छन् । स्थानीय सरकार आफैँ पनि पर्व जोगाउनका लागि लागि परेका छन् । ‘आफ्नो संस्कार, संस्कृति, पहिचान जोगाउनका लागि पर्वको जगेर्ना गर्नुपर्छ, ‘जयपृथ्वी नगरपालिका प्रमुख चेतराज बजालले भने, पहिचान जोगाउनका लागि अहिले धेरै स्थानीय सरकार आफैँ अग्रसर भएका छन् । हामीले पनि पर्वको संरक्षणका लागि आर्थिक सहयोग गर्दै स्थानीयलाई आग्रह गरेका छौँ ।’
भुवा पर्वमा रातभरि आगो बालेर देउडा, भारीखेल, भस्सोलगायत खेल छुट्टाछुट्टै खेल्ने चलन छ । यो पर्व तीनदेखि पाँच दिनसम्म मनाइन्छ । कुनै ठाउँमा भुवो खेल्दा गाउँमा छैटी खेल्ने चलन पनि छ । बडिमालिका नगरपालिका–१ पाटा बाजुराका यज्ञराज पण्डितका अनुसार घरको जेठो छोरा जन्मेको एक वर्ष पूरा गरेपछि उसको घरमा गएर छैटी माग्ने चलन छ ।
पण्डितले भने, हाम्रो बाजुरामा घरमा जेठो छोरो जन्मिएको एक वर्ष पूरा भएपछि भुवो पर्वकै अवसरमा छैटी खेल्ने चलन छ । छैटीमा घरको आँगनमा भगवान् श्रीकृष्णको गाथा गाउने, बच्चालाई मान्यजनले आशिर्वाद दिने र सबै गाउँलेलाई बोलाएर भोज गर्ने चलन छ ।’ उनका अनुसार बाजुरामा पनि फरक फरक तरिकाले भुवा पर्व मनाउने गरिन्छ ।
भुवाका श्लोक पनि पाण्डवको जितसँगै आफ्नै भाषा, लय, संस्कृतिअनुसार फरक÷फरक गाउने गरिन्छ । ‘कुनै गाउँमा मुकुट लगाई श्रृङ्गार गरी कसैलाई बाघ, चित्तल, हरिण बनाई बाजागाजाका साथ घुमाउने, नचाउने गरिन्छ भने कुनै ठाउँमा मध्यराति राँके लडाइँ गर्दै गाउँगाउँ जाने गरिन्छ ।’ उनले भने
