स्वरोजगार विकास कोषद्वारा सहकारीलाई थोककर्जा प्रवाह

अत्तरिया : सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषले प्रदेशमा स्वरोजगार÷रोजगार सिर्जना गर्न सहकारी संस्थाहरुलाई थोककर्जा प्रवाह गर्न शुरु गरेको छ ।
स्वरोजगार विकास कोषले पहिलो चरणमा प्रदेशका दुई सहकारीहरुलाई ८०÷८० लाख रुपैयाँ थोक कर्जा प्रवाह गरेको छ । कोषले कैलालीको गोदावरी नगरपालिका चौकीडाँडामा रहेको मालाखेती कृषि सहकारी संस्था र कन्चनपुरको महेन्द्रनगरमा रहेको संकल्प कृषि सहकारी संस्थालाई थोक कर्जाप्रवाह गरेको हो । आर्थिक मामिला तथा योजना राज्यमन्त्री बलबहादुर सोडारीले मंगलबार मालाखेती कृषि सहकारी र संकल्प कृषि सहकारीका प्रतिनिधिलाई थोक लगानीको चेक हस्तानतरण गरेका हुन् ।
कोषले १ प्रतिशत ब्याजमा ती सहकारीहरुलाई थोक कर्जा प्रवाह गरेको हो । ती सहकारीहरुले बढीमा ४ प्रतिशत मार्जिन लिएर अधिकतम ५ प्रतिशतमा कर्जा प्रवाह गर्नुपर्नेछ । प्रदेशमा रोजागरीको सिर्जना गर्न लामो प्रयासपछि सहकारीहरु मार्फत सहुलियत रुपमा लगानी शुरु गरिएको कोषका कार्यकारी निर्देशक चुडामणि तिम्सिनाले बताए । “हामीले भर्खर सहकारीसँग व्यावायिक साझेदारी गरेर थोक लगानी शुरु गरेका छौं ।” सहकारीहरुलाई रकम हस्तान्तरण कार्यक्रममा कार्यकारी निर्देशक चुडामणि तिम्सिनाले भने “अहिले कैलाली र कन्चनपुर जिल्लाका सहकारीलाई थोक लगानी गरेका छौं । यो लगानी सबै जिल्लाका सहकारीमा गरिनेछ ।”
कोषबाट पाएको ऋण रकमबाट मालाखेती कृषि सहकारीले ३० जना र संकल्प कृषि सहकारीले ३९ जनालाई ऋण लगानी गर्ने भएका छन् । सहकारीहरुmले लक्षित समुदायक व्यक्तिलाई अधिकतम तीन लाखसम्म, ५ जना वा सो भन्दा बढी सदस्य रहेको सामुहिक व्यवसायलाई १० लाखसम्म लगानी गर्न सक्नेछन् । सहकारीहरुले ऋण लिनका लागि इच्छुक व्यक्तिहरुको सुची र बिस्तृत विवरण कोषमा बुझाउनु पर्ने र कोषले स्वीकृत गरेका व्यक्तिहरुलाई मात्र लगानी गर्नुपर्नेछ । “कोषबाट पाउने थोक कर्जा सहकारीहरुले आफु खुशी लगानी गर्ने र लगानीको अपेक्षित उपलव्धि नआउने नहोस् भनेर फरक व्यवस्था गरेका छौं ।” कार्यकारी निर्देशक तिम्सिनाले भने “सहकारीबाट आएको विवरण कोषले फिल्डमा नै गएर अध्ययन गरेर लगानीका लागि उपयुक्त ठहरयाएपछि मात्र सहकारीले लगानी गर्न पाउँछ ।”
सुदूरपश्चिम प्रदेश सरकारले २०७५÷२०७६ को बजेटमा बैदेशिक रोजगारीमा जाने जनशक्तिलाई स्वदेशमै स्वरोजगारमुलक क्रियाकलापमा संलग्न गराउन, उद्यमशिलताको विकास गर्न एवंम पँुजीको अभाव भइ लगानीको श्रोत अपुग भएका बेरोजगार नागरिकलाई नागरिकता र शैक्षिक प्रमाणपत्र धितो राखी न्युन ब्याजदरमा ऋण प्रवाह गर्न स्वरोजगार विकास कोषको अन्तर्गत १ अर्ब बिनयोजन गरेको थियो । पहिलो पटक बजेट छुट्याएको पाँच बर्षपछि सबै प्रक्रिया पुरा गरेर कोषले लगानी शुरु गरेको हो । सो अवससरमा आर्थिक मामिला तथा योजना राज्यमन्त्री बल बहादुर सोडारीले सहकारीलाई गरिएको थोक लगानीले रोजगारी सिर्जना हुनेमा आफु बिश्वस्त रहेको बताए । कार्यक्रम माधव जोशीले संचालन गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.