अत्तरिया : सुदूरपश्चिम प्रदेशसभा सदस्याहरुले आज शपथ लिदैँ छन् । सपथग्रहणका लागि प्रदेश सचिवालयले सम्पूर्ण तयारी पारेको छ ।
सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभाहरूले भोलि शुक्रबार हुने पद तथा गोपनीयताको शपथ ग्रहणको तयारी पुरा भएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथ ग्रहणका लागि प्रदेश सभाभित्रको सजावट, रंगरोगन, सिट व्यवस्थापन, सचिवालय व्यवस्थापनलगायत सबै तयारी छ । करिब २० लाख रुपैयाँ लागतमा विद्युतीय उपकरण माइक, स्पिकर, मिक्सर लगायतका सामान फेरिएका छन् ।
माइक र फर्निचरका सामान फेर्ने काम, रोस्टमको सेट अप र लोगो राख्ने लगायतका काम भैसकेका छन् । नवनिर्वाचित प्रदेशसभा सदस्यहरूका लागि चाँदी र सुनको जलपसहितको लोगो बनाउने काम पनि सकिएको छ । सचिवालयका सूचना अधिकारी युवराज जैशीले पद तथा गोपनीयताको शपथका सबै तयारी पूरा भइसकेको र दिउँसो १ बजे समय तय भएको छ । प्रदेशसभाका ज्येष्ठ सदस्य ६८ वर्षीय मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ । रावलले प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गरिसकेपछि दिउँसो साढे १ बजे प्रदेशसभा भवनमा अन्य ५२ जनालाई रावलले शपथ ग्रहण गराउने जैशीले बताए । शपथका लागि सभा हल व्यवस्थापनदेखि तथा अन्य व्यवस्थापकीय काम पनि भइसकेको छ । प्रदेशसभा सदस्यहरूका लागि नेपाली र मातृभाषामा शपथ ग्रहण गराउने व्यवस्था गरिएको छ । सचिवालयले सूचना जारी गर्दै मातृभाषामा शपथ ग्रहण गर्न इच्छुकलाई नाम टिपाउन आग्रह गरेको थियो । सोहीअनुसार नागरिक उन्मुक्ति पार्टीका ५ जना र नेपाली काङ्ग्रेसकी समानुपातिक सांसद गीता चौधरीले मातृ भाषामा शपथ ग्रहणका लागि नाम टिपाएको जैशीले बताए । ६ जना बाहेक अन्यले भने नेपाली भाषामै शपथ ग्रहण गर्नेछन् ।
शपथ ग्रहण सकिएपछि प्रदेशसभा सचिवालय परिसरमा चियापान तथा बधाई ज्ञापन कार्यक्रमको समेत आयोजना गरिएको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा (एकीकृत समाजवादी) का ३, राप्रपाका १ र १ जना स्वतन्त्र प्रदेशसभा सदस्य निर्वाचित भएका छन् ।
सम्बन्धित पाेस्टहरु