Agni Offset Press

प्रतिनिधिसभा सदस्य अरुण चौधरी १० वर्षदेखि फरारको सूचीमा

Aarati simant

अत्तरिया : प्रतिनिधिसभाका सदस्य अरुणकुमार चौधरी १० वर्षदेखि फरार सूचीमा रहेको भेटिएको छ । चौधरीसहितका तीन जनालाई कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते ६ महिना कैद तोकेको थियो ।

सांसद चौधरीसहितले २०६५ साल भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको सरकारीवादी फौजदारी मुद्दा परेको थियो । हालको लम्कीचुँहा नगरपालिका (साविकको बलिया गाविस) क्षेत्रमा सो ट्याक्टर जलाइएको थियो ।

मुद्दामा ट्याक्टर जलाएर ८ लाख १९ हजार ४२३ रुपियाँ बराबरको क्षति पुगाएको दाबी ट्याक्टरका मालिक महादेव वजगाईले गरेका थिए । अदालतले तीनै जनाबाट विगो रकम असुल्न समेत आदेश गरेको पाइएको छ ।

सो मुद्धामा लम्कीचुँहाकै पर्शुराम चौधरी र वीरबहादुर चौधरी दोषी ठहरिएका छन् । शुक्रबार वीरबहादुर चौधरी पक्राउ परेपछि सांसद चौधरी फरार सूचीमा रहेको खुलासा भएको हो ।

२०७४ मा लम्कीचुँहाको मेयर र प्रदेशसभा सदस्यमा पराजित चौधरी २०७९ को चुनावमा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए । उनी रेशम चौधरीको नागरिक उन्मुक्ती पार्टीबाट विजयी भएका हुन् । अदालतले सांसद चौधरीलाई फरार सूचीमा राखे पनि प्रहरीले उनलाई पक्राउ गरेको छैन ।

पक्राउ परेका वीरबहादुर चौधरीले कारागार कार्यालय कैलालीमार्फत नगद दाखिरा गरी कैद मुक्त गराइ पाउँ भन्ने निवेदन दिएकामा कैलाली जिल्ला अदालतले त्यसलाई अस्वीकार गरिदिएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.