लाटोकोसेरो उत्सवको तयारी अन्तिम चरणमा

धनगढी : नेपालको पहिलो चरा आरक्ष घोडाघोडीमा हुन गइरहेको नेपाल लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । माघ २० गतदेखि दुई दिनसम्म घोडाघोडी नगरपालिका –४ को माघी होमस्टेमा आयोजना हुने उत्सवको तयारी ८० प्रतिशत पूरा भएको आयोजकले जनाएको छ ।
चरा संरक्षण नेटवर्क कैलालीको व्यवस्थापन र विभिन्न संस्थाहरुको सहयोगमा संरक्षणमा क्रियाशील संस्था प्रकृतिका साथीहरुले १० औं उत्सव आयोजना गर्न लागेको हो । उत्सवमा सहभागिताका लागि पाहुना आउनेक्रम सुरु भएको छ ।
उत्सवका लागि प्रदर्शनीस्थल व्यवस्थापन, गेट निर्माणलगायतका कार्य पूरा भएका छन् । किसानका साथी मानिएको लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि सचेतना फैलाउने उद्देश्यले आयोजना हुन गइरहेको उत्सवमा संरक्षणसम्बन्धी प्रवचन, लाटोकोसेरोको बारेमा जानकारीमूलक प्रदर्शनी, साँस्कृतिक प्रस्तुति, घोडाघोडी चरा आरक्षमा चरा अवलोकन लगायतका कार्यक्रम हुने जनाइएको छ ।
त्यस्तै, मुङ्ग्रहुवा, सखिया, झुम्रा, हुरडुङ्ग्वा, देउडा, कौडा नृत्यका साथै, किचकिच, छुर, टिटी, कोइली दिदी, भुरुङ, सारंगी हाटाजस्ता लोपोन्मुख खेल आयोजना हुने आयोजकले जनाएको छ ।उत्सवको दोस्रो दिन संरक्षणमा योगदान गर्ने चार जनालाई ‘राष्ट्रिय प्रकृति संरक्षण’ पुरस्कार प्रदान गर्ने जनाइएको छ । यसवर्ष पुरस्कारका लागि जाजरकोटको संरक्षणकर्मी गोविन्दबहादुर सिंह, काठमाण्डौं–४ गोकर्णेश्वरका अनुसन्धानकर्मी हेमबहादुर कट्वाल, कान्तिपुर दैनिकमा कार्यरत चितवनका पत्रकार रमेशकुमार पौडेल र भारतीय वैज्ञानिक डा. सतीश अ. पांडे छनोटमा गरिएको छ । चारै जनालाई जनही २५ हजार नगदसहित ताम्रपत्र तथा दोसल्लाले सम्मान गरिने आयोजक प्रकृतिका साथीहरुका कार्यकारी निर्देशक राजु आचार्यले जानकारी दिए ।
यसअघि, चितवन, नवलपरासी, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, खोटाङ र स्याङजामा उत्सव आयोजना गरिएको थियो । नेपालको सुदूरपश्चिमबाट सबैभन्दा बढी लाटोकोसेरो भारततर्फ तस्करी हुनेगरेका कारण संरक्षणसम्बन्धी सन्देश दिन यसवर्ष कैलालीमा उत्सव गर्न लागिएको हो । नेपालमा २३ प्रजातिका लाटोकोसेरो पाइन्छन् । जसमध्ये नौ प्रजाति दुर्लभ मानिएका छन् भने दुई प्रजाति नेपालबाट लोप भएको बताइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.