धनगढी : कैलालीको धनगढी बसपार्कमा एक युवक मृत फेला परेका छन्। बिहीवार बिहान भारतबाट धनगढी पुगेका मोहन्याल गाउँपालिका–१ का ३९ वर्षीय प्रकाश घर्तीमगर दिउँसो मृत भेटिएका हुन् ।
बसपार्कस्थित चन्द्रदिप मिलन बोक्टान होटलमा आराम गर्न भन्दै बसेका प्रकाश मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले घर्तीमगर होटलको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएको जानकारी दिए । उनका अनुसार घर्तीमगर बिहीबार बिहान ९ बजे भारतको रत्नागिरीबाट धनगढी पुगेर होटलमा शौचालय गएका थिए ।
शौचालयबाट धेरै बेरसम्म नफर्किएपछि उनीसँगै आएका बर्दगोरिया गाउँपालिकाको बौनियाका छत्रबहादुर चन्दले प्रहरीलाई खबर गरेका थिए । मानसिक सन्तुलन ठीक नभएका घर्तीमगरसँग चन्दको बाटोमै भेट भएको थियो । मृतककी श्रीमती गंगादेवी घर्तीमगरकाअनुसार उनी गत मंसिरमा कामको खोजीमा भारत गएका थिए ।
मानसिक स्वास्थ्य बिग्रिएपछि भारतबाट उनी कार्यरत आपको बगैँचाका मालिकले घर पठाएका थिए। यसअघि गंगादेवी पनि श्रीमानसँगै भारतमा काम गर्दै आएकी थिइन्। मृतकका १७ वर्षीय र १२ वर्षीय दुई छोरा छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।