Agni Offset Press

हसुलिया–मसुरिया सडक निर्माण अलपत्र, स्थानीयलाई सास्ती

Aarati simant

अत्तरिया, १८ माघ : कैलालीको कैलारी गाउँपालिकाको हसुलियादेखि गौरीगंगा नगरपालिकाको बढैपुसम्मको सडक निर्माण कार्य अलपत्र छ ।
हसुलाकी राजमार्ग र पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग जोड्ने सो सडकको हसुलिया खण्डमा कालोपत्र गर्न २०७७ असार ७ गते ठेक्का सम्झौता भएको थियो । सडक डिभिजन कार्यालय, महेन्द्रनगरले पाँच खण्डमा सडक कालोपत्रका लागि सम्झौता गरेको थियो । यस सडकको दुरी झण्डै १९ किलोमिटर छ ।
तर, अहिले निर्माणको काम ठप्प छ । सडक डिभिजन, साइड कार्यालय धनगढीका प्रमुख गणेश बुढाले बजेट नभएका कारण बाँकी सडक निर्माणको काम अघि बढाउन नसकिएको बताए । उनले भने, ‘पुरानो ठेक्का छ । तर बजेट हामीसँग छैन् । बजेट नभएर काम गरेको बिलको पैसा दिन सकिएको छैन् । साथै म्याद सकिएकाले पनि भुक्तानी गर्न सकिएको छैन् ।’ पूर्व–पश्चिम राजमार्गदेखि कैलारी गाउँपालिकाको लौसासम्मको ३ किलोमिटर सडक कालोपत्र गरिएको छ । १६ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ । हसुलियादेखि पाँच किलोमिटरसम्म सडक डिभिजनले कालोपत्रका लागि ठेक्का सम्झौता गरेको थियो ।
२०७७ चैत १५ गतेसम्ममा सडक निर्माणको कम पूरा गर्नुपर्ने गरी सम्झौता गरिएको भए पनि अझै काम हुन सकेको छैन् । तराई–मधेश कार्यक्रमबाट आएको बजेटबाट ठेक्का सम्झौता गरिएको बुढाले बताए । उनका अनुसार सो कार्यक्रमको बजेट प्रदेशमा गएको छ । तर, प्रदेश सरकारले छुट्टै ठेक्काको प्रक्रिया सुरु गरेको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय धनगढीका प्रमुख रामचन्द्र खत्रीले बताए ।
सडक कलोपत्रका लागि ४ ठेक्का बीबीएस कन्स्ट्रक्सन र एक ठेक्का मल्ल निर्माण सेवाले पाएको छ । हसुलियादेखि उत्तर एक दशमलव ३ किलोमिटर सडक कालोपत्रका लागि ३३ लाख ६१ हजार, एक दशमलव २ किलोमिटर सडक कालोपत्रका लागि २८ लाख ३८ हजार, एक किलोटिर सडक कालोपत्रका लागि १८ लाख ८४ हजार र ८ सय ७५ मिटर सडक कालोपत्रका लागि बीबीएस कन्स्ट्रक्सनले ठेक्का पाएको छ । नौ सय मिटर सडक कालोपत्रका लगि ११ लाख ३६ हजारमा मल्ल निर्माण सेवाले ठेक्का पाएको छ ।
तर, पुरानो काम गरेको रकम नपाएको भन्दै बाँकी निर्माण कार्य अघि बढेको छैन् । चालु आर्थिक वर्षमा सो योजनाका लागि बजेट विनियोजन समेत भएको छैन । सडक डिभिजन कार्यालय महेन्द्रनगरले ठेक्का सम्झौता गरेको सडक निर्माणको काम अलपत्र परेका बेला प्रदेशको पूर्वाधार विकास कार्यालयले बाँकी खण्डमा सडक कालोपत्रका लागि अध्ययनको प्रक्रियामा छ । सडक निर्माण सम्पन्न नहुँदा स्थानीयलाई सास्ती भएको छ ।

 

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.